Logo

नयाँ आइजिपीको दौडमा थापा र पाल, कसले बाजी मार्ला ?



असार २०, काठमाण्डौ । नेपालमा राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा अधिकांश प्रहरी प्रमुख चयन भएका छन् । असार २४ गतेदेखि वर्तमान प्रमुख ठाकुरप्रसाद ज्ञवाली उमेरहदका कारण अनिवार्य अवकास हुँदैछन् । र अबका प्रहरी प्रमुख को बन्ला भन्ने चासो बढेको छ ।

गत माघमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका ज्ञवालीले आगामी असार २५ गते अनिवार्य अवकाश पाउने मिति नजिकिँदै गर्दा ज्ञवालीको उत्तराधिकारी हुने दौड प्रहरीभित्र सुरू भएको हो । नेपाल प्रहरी संगठनको नेतृत्व गर्ने आईजीपी नियुक्तिमा अन्तिम निर्णय र स्वविवेक प्रयोग गर्ने निकाय भएकाले सरकारलाई आश्वस्त पार्न सम्भावित उत्तराधिकारीले प्रयास गरिरहेका छन् ।

अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरू शैलेश थापा क्षेत्री र हरिबहादुर पाल भावी आईजीपी हुने दौडमा छन् । अब हुने आईजीपीको सेवा अवधि २०७९ वैशाख १९ गतेसम्म हुनेछ । थापा र पाल दुवै ०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

हाल तीन डीआईजीहरु दुई एआईजी पदका आकांक्षी छन् । २०७६ वैशाख १९ गते डीआईजीमा बढुवा भएका विश्वराज पोखरेल पनि एआईजीको दौडमा छन् ।

आईजीपी ज्ञवाली र एआईजी लम्सालले अवकाश पाएपछि एआईजीको रिक्त दुई पदमा डीआईजीहरु शाही, कार्की र पोखरेलमध्ये दुई जनाले मात्रै योपटक एआईजी हुने अवसर पाउनेछन् ।

हरेकपटक प्रहरी प्रमुख फेरिने बेला राजनीतिक दौडधुप हुने गरेको छ । प्रहरी प्रमुखमा आफ्नो मान्छे ल्याउन चाहने राजनीतिक नेतृत्वका कारण योग्य र क्षमतावान व्यक्तिले अवसर पाउन नसकेको पूर्व प्रहरी अधिकारीहरु बताउँछन् । विगत २०४९ सालदेखि नेपाल प्रहरीको यात्रा आग्रह पूर्वाग्रहकै आधारमा भइरहेको पूर्व डिआइजी केशवबहादुर अधिकारी बताउँछन् ।

आईजीपी नियुक्त गर्ने अधिकार सरकारसँग हुन्छ । कमाण्ड क्षमता बलियो भएको र सरकारले मन पराएको व्यक्ति नै नेपाल प्रहरीको आईजीपी नियुक्त हुने परम्परा छ । तर क्षमताभन्दा बढि राजनीतिक स्वार्थ जोडिने गरेको छ । अर्थात प्रहरी संगठनमा सरकारको हस्तक्षेप बारम्बार भइरहेको छ । जसका कारण यसपटक पनि क्षमताको अवमूल्यन हुने हो कि भन्ने आशंका उब्जिएको अधिकारी बताउँछन् ।

नेपाल प्रहरीको २८ औं आईजीपीका लागि असार २५ अघि नै सरकारले निर्णय गर्नुपर्नेछ । कोरोना भाइरस संक्रमणको महामारीसँगै मुलुक आर्थिक रुपमा संकटमा परेका बेला स्वच्छ छवि भएका व्यक्तिलाई नै प्रहरी संगठनको नेतृत्वको नियुक्ति दिन आवश्यक छ ।



प्रतिक्रिया दिनुहोस्