Logo

प्रधानमन्त्री ओलीले नै नेकपा फुटको नजिक रहेको खुलाए, कडा कदम चाल्न लागेको जानकारी



काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी अलग हुनसक्ने बताएका छन् । आज बालुवाटारमा मन्त्रीहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै उनले आफूले क्रमशः कडा कदम चाल्ने भन्दै अर्को बैठकमा कुन कित्तामा रहने निर्धारण गरेर आउन भनेका छन् ।

‘म बाइ फोर्स स्टेप चाल्दैछु, अर्को बैठकमा कता लाग्ने निर्धारण गरेर आउनुहोस्,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक मन्त्रीले भने । उनले मन्त्रीहरुलाई अर्को बैठकसम्म स्पष्ट भएर आउन भनेका थिए ।

आफूले राजीनामा नदिने बरु कडा कदम चाल्ने प्रधानमन्त्रीको भनाई थियो । नेकपा स्थायी कमिटीको समेत कडा आलोचना गरे । स्थायी कमिटीलाई हुल्लडहरु भने । पार्टी एक हुन नदिने षड्यन्त्रहरु भएको र त्यसका विरुद्ध आफू सशक्त रुपमा प्रस्तुत भइरहेको बताए । पार्टी बचाउन अन्तिम समयसम्म कोशिश गर्ने तर त्यो सम्भावना निकै कम रहेको बताए । उनको भनाई उदृत गर्दै एक मन्त्रीले भने, ‘अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गरिरहेको छु, सकिएन भने अलग हुन्छ ।’ आफूले चाल्न लागेको कदममा सहयोगको आगह समेत गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी भइरहेको प्रधानमन्त्रीको भनाई थियो । महाभियोगबारे जानकारी पाएरै संसद अधिवेशन अन्त्यको निर्णय गरेको बताएका थिए । उनले भने, ‘आफ्नै राष्ट्रपतिलाई हटाउन खोज्ने कस्तो संगठन हो ?’

नेकपा विभाजनको संघारमा पुगिरहेको विषय बाहिर आइरहँदा प्रधानमन्त्री ओलीको पछिल्लो भनाई बाहिर आएको हो । यसले अब नेकपा दुर्घटनाको टर्ने सम्भावना क्षीण भएको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्