Logo

ओलीले किन खोजे देउवाको साथ



काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको साथ खोजेका छन् । उनले यसै हप्ता दुईपटक देउवासँग छलफल गरेका छन् । बुधबार देउवासँग भेटवार्ता गरेका उनले आज साँझ पनि छलफल गरेका छन् ।

ओलीले आफ्नो पार्टीमा विभाजन आउन लागेको खुलाएलगत्तै देउवासँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ । यसलाई काँग्रेससँग मिलेर ओली पक्षले सरकार बनाउन खोजेको अनुमान लगाउन थालिएको छ ।

पार्टी विभाजनको नजिक पुगेपछि ओलीले देउवाबाट साथ पाउने आशा राखेको बुझिएको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्ने विषयमा ओलीको देउवासँग कुरा मिलेको छ । नेकपाभित्र विभाजन आएमा एमसीसी पारित गर्ने सरकार बन्न सक्ने सम्भावना पनि औल्याइएको छ । काँग्रेस पनि ओलीपक्ष जस्तै एमसीसी पक्षधर हो ।

नेकपाका एक नेताका अनुसार ओलीसँग ३० देखि ४० प्रतिशत सांसद संख्या हुन्छ । त्यो संख्या र काँग्रेससहित जनता समाजवादी पार्टी मिलाउँदा सरकार सजिलै बन्छ । यसतर्फ पनि ओली पक्षले ध्यान दिइरहेको बुझिएको छ । सकेसम्म पार्टी एकता कायमै राख्ने, विरोधीलाई गलाउने नभए कठोर कदम चालेर बढ्ने सम्मको ओलीको तयारी बाहिर आइसकेको छ । पदमै रहन उनले काँग्रेससँग सम्झौता गर्न सक्ने ओली पक्षधरमा चर्चा छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्