Logo

खोकनाको रोपाइँमा झडपः केही प्रदर्शनकारी र पाँच सुरक्षाकर्मी घाइते



काठमाडौं, २१ असार । ललितपुरको खोकनाबासीले आफ्नो खेत रोप्न पाउनुपर्ने माग राख्दै गरिएको प्रदर्शनमा झडप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । किसानहरुले शनिबार धान रोप्ने क्रममा खोकनाको खुडोलमा झडप भएको हो ।

झडपका क्रममा एक प्रहरी निरीक्षक, तीन प्रहरी जवानका साथै २२ प्रदर्शनकारी घाइते भएको प्रहरी परिसर ललितपुरले जनाएको छ । तराई मधेस दु्रतमार्गको जेरो किलोमिटर अर्थात् द्रुतमार्गको बसपार्क प्रस्ताव गरिएको खुडोलमा झन्डै डेढ सय रोपनीको किसानले मुआब्जा लिइएको छैन ।

चार वर्षअघि निर्धारण भएको मुआब्जा उचित नभएको भन्दै खोकनाबासीले मुआब्जा नलिई आन्दोलन गरिरहेका छन् । यसले गर्दा दु्रतमार्गको ललितपुर खण्डमा कामको भौतिकरुपमा प्रगति हुन सकेको छैन । यसअघि असार १५ मा पनि किसानले यही क्षेत्रमा धान रोपेका थिए । शनिबार भने धान रोप्ने कार्यक्रम तय भएसँगै बिहानैदेखि त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

किसानहरु पनि बाजगाजा झाँकीसहित नाराबाजी गर्दै धान रोप्दै थिए । त्यसक्रममा सुरक्षाकर्मीले धान नरोप्नलाई आग्रह गरेपछि आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । प्रहरीले धान रोप्न अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको थियो ।

ढुंगामुढा गरी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले १८ सेल अश्रु ग्याँस प्रहार गरेको थियो भने लाठीचार्ज गरी परिस्थितिलाई साम्य पारिएको खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्