Logo

यार्सा संकलन नहुँदा खानलाउनै समस्या



दार्चुला, २१ असार । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण यार्सागुम्बा टिप्न नपाएपछि दार्चुलाका अधिकांश स्थानीयलाई के खाने र के लाउने भन्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरस फैलिने डरले संकट व्यवस्थापन केन्द्रले यस वर्ष यार्सागुम्बा पाइने लेकहरु बन्द गरेपछि यार्सा संकलन गरी वर्षभरि गुजरा चलाउनेहरुलाई निकै मर्का परेको छ ।

विगतका वर्षमा जेठको अन्तिम सातादेखि यार्सा संकलन गर्न यार्सागुम्बा पाइने वनहरु खुला गर्ने गरिएकोमा यस वर्ष भने संकलन समय लगभग सकिँदासम्म यार्सा संकलकहरुले संकलन अनुमति पाएका छैनन् । विगतमा यार्सा संकलन गरी आम्दानी गरेको पैसाबाट वर्षभरि गुजरा गर्ने दार्चुलाका स्थानीय आम्दानी नहुँदा चरम आर्थिक मारमा परेका छन् ।

एकै घरका ३÷४ जनासम्म यार्सा संकलन गर्न जाने गरेकोमा लकडाउनका कारण सबैको आम्दानी गुमेको छ । गत वर्ष यार्सा संकलन गरी ३ लाख रुपियाँ आम्दानी गरेका अपी हिमाल गाउँपालिका‐६ का विशनसिंह बुढाथोकीले यस वर्ष यार्सा संकलन नै गर्न पाएका छैनन् ।

उहाँले भन्नुभयो– ‘गत वर्ष यार्सा संकलन गरी ३ लाख कमाइ भएको थियो, यस वर्ष यार्सा संकलन गर्न वन नै खुलेन के लाउने के खाने भन्ने अवस्थाको सिर्जना भएको छ ।’ यार्सा संकलन गर्न नपाएपछि बुढाथोकीजस्तै धेरैको रोजगारी गुमेको खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्