Logo

ओली-प्रचण्ड समुह आ-आफ्नो तयारीमा, वार कि पारको अन्तिम कसरत



काठमाडौं, २१ असार । फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ आफ्नो तयारीमा जुटेका छन् । दुवै पक्ष वार कि पार गरेर जाने गरी तयारीमा जुटेका हुन् ।

हिजो राति अबेरसँग निकटस्थसँग परामर्श गरेका ओली र प्रचण्ड दुवैले आज विहान पनि छलफल गरेका छन् । ओलीले मन्त्री, सांसद र पार्टी कमिटिमा रहेकाहरुलाई कुन कित्तामा रहने हो स्पष्ट हुन भनिसकेका छन् । योसँगै उनले निकटस्थहरुलाई सक्रिय बनाएका छन् ।

प्रचण्डले पनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमलाई खुमलटारमा डाकी परामर्श गरेका छन् । उनले एकता बचाइराख्ने प्रयास असफलप्रायः भइसकेकाले कडा कदम चाल्नुपर्नेबारे छलफल गरेको निकट स्रोतल बताएको छ । आफ्ना पक्षका मन्त्रीहरुलाई राजीनामाका लागि तयार हुन भनिएको छ ।

नेकपाभित्र हिजो राति देखि सांसद र स्थायी कमिटिीको अंकगणितको खेल शुरु भइसकेको छ । अहिलेसम्म दुवै पक्षमा सांसद संख्या ४० र ६० को अवस्था छ । ओली पक्षमा नेकपाको कुल सांसद संख्याको ४० प्रतिशत र प्रचण्डलगायतको समुहमा ६० प्रतिशत रहेको बुझिएको छ । स्थायी कमिटीमा भने ओलीको एक तिहाई मात्र छ । १३ र ३० को अवस्था रहेको छ । दुईजना भने तटस्थ छन् ।

ओलीले सांसद संख्याकै आधारमा अगाडि बढ्ने तयारी गरेका छन् । यसका लागि उनले सम्पूर्ण तयारी गरिसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्