Logo

विजय वा पराजय व्यक्ति होईन राष्ट्र हुने



महेश कुमार श्रेष्ठ

बर्तमान सरकारको करीव साढै दुईवर्षको कार्यकालको कार्यसंपादन मुल्याङ्कनको सबल र दूरवल पक्षहरुलाई समग्ररुपमा मुल्याङ्कन गर्दा सरकारको सबल भन्दा दुर्वल पक्षको हावी बढिमात्रामा रहेको पाईन्छ।

सरकारका मुख्य दुर्वल पक्षहरुमा खासगरि आफ्नै दलको आन्तरिक मतभेद, गुनासा,तिक्तता र समस्याहरुलाई बुद्धिमतापूर्ण ढंगबाट ब्यवस्थापन गर्न नसक्नु, दलका शिर्ष नेतृत्वहरुकोविचमा आपसि सहयोग, सद्भाव, समन्वय र सहमतिमा कमि हुनु, नेतृत्वहरुकोवीचमा आपसि ईगो, दम्भ र घमण्डले प्रश्रय पाउनु, विभिन्न समयमा गरिएका सहमतिहरुलाई ब्यवहारिक ढंगबाट कार्यन्वयन गर्न नसक्नु, नेतृत्व वर्गहरुवाट अस्वभाविक र तुच्छ ढंगका वक्तव्यवाजीहरु हुनु, सरकार दलको राय सल्लाहलाई महत्व नदिई निश्चित घेरावन्दिको सल्लाहवाट मात्र चल्नु, सरकारबाट अनियमितता र भ्रष्टाचार प्रकरणमा गम्भिरताका साथ छानविन गरी कारवाही गर्न नसक्नु र भ्रष्टाचारमा संलग्नहरुलाई संरक्षित गरिएको भनी व्यापक आलोचना हुनु, आम जनताहरु विभिन्न प्रकारका कर तथा महंङ्गिको चपेटामा पर्नु, लकडाउनको कारण विभिन्न श्रमिक, ज्यालादारी, उद्धोग, व्यापार, ब्यवशायीहरु थप्प हुन गई दैनिकआवश्यक्ता र उपभोग्य वस्तुहरुको आपुर्ति तथा किस्तावन्दि ऋणभार तथा अन्य विभिन्न कारणहरुले गर्दा आत्महत्यामा वृद्धि हुनु, आम जनसमुदायको मन र मस्तिष्क जित्ने खालका कामहरु हुन नसक्नु, कोभिड-१९ क‍ो प्रभावकारी र प्रयाप्त परिक्षण प्रणालीको ब्यवस्थापन गर्न नसक्नु आदी हुन।

त्यस्तैगरि सरकारका सबल पक्षहरुमा कोभिड-१९ को ब्यवस्थापनमा तिनै तहका सरकार तदारुक्ताका साथ परिचालन हुनु, लकडाउनकै समयमा पनि बिकास निर्माणका कार्यहरुलाई संचालन गर्नु, नेपालको परिमार्जित नया नक्शा प्रकाशन गरि बिगत ६८ बर्ष अगाडि देखि छिमेकी मुलुक भारतवाट अतिक्रमित भूमि लिम्पियाधुरा,कालापानी, लिपुलेकलाई उक्त नक्शामा समाबिष्ट गर्नु, अतिक्रमित ईलाकामा सशस्त्र प्रहरी बल नेपाल को परिचालन तथा नेपाली सेना समेत परिचालन गर्ने नीति रहनु , उक्त नया नक्शाको प्रकाशन र संसोधनमा संपुर्ण दल र आम नेपाली जनताहरुको समर्थन प्राप्त गरि राष्ट्रिय एकता कायम राख्नु, बैवाहिक र अङ्गिकृत नागरिक्ता संशोधन बिधेयक आदी हुन। नागरिक्ताको सम्बन्धमा केही दल यसको बिपक्षमा रहेतापनि आम जनसमुदाय यसको पक्षमा रहेको पाईन्छ।

यद्धपि सरकारका विभिन्न कमिकम्जोरी तथा दुर्वल पक्षहरु रहदा रहदै पनि सरकारले नेपालको परिमार्जित नया नक्शालाई प्रकाशन गरि भारतले अतिक्रमण गरिरहेको भूमिलाई औपचारिक ढंगबाट उक्त भूमि नेपालको हो भन्ने दावी गरि त्यसभूमिलाई फिर्ता ल्याउने सम्बन्धमा आफ्नो पहल जारी राखेको छ। नेपाल सरकारले पटक- पटक भारत सरकारलाई उक्त अतिक्रमित भूमिको समस्या कुटनैतिक वार्तावाट सुल्झाउन अनुरोध गरेतापनि भारतले यसलाई प्राथमिक्तामा नराखेको पाईन्छ। नेपालको नया नक्शा प्रकाशन र नागरिक्ता बिधेयकको बिषयमा भारत सरकारले विभिन्न सामाजिक संजाल र उच्चतहका अधिकारीहरुमार्फत आफ्ना असन्तुष्टि र बिरोधहरु जनाईनैरहेको र नेपाल सरकारलाई चीनको ईसारामा नाचीरहेको भनी आरोप प्रत्यारोपहरु लगाईरहेको छ। भारतका केही पत्रकार, पुर्व राजदूत, राजनितीक ब्यक्तित्वहरु लगायतले वेला वेलामा भारत सरकारलाई उक्त अतिक्रमित भूमि नेपालको रहेको र नेपाल संगको भारतको सदियौ देखिको सम्बन्ध नविगारी वार्ताद्वारा समस्याको समाधान गर्नु पर्ने भनी दवाव समेत सृर्जना गर्दै आईरहेको छ। तापनि भारत सरकार यो समस्याको समाधान वार्ता र छलफलवाट नगरि परंपरागत हैकमवाद,दवाव, प्रभाव, साम, दाम, दण्ड र भेद जस्ता कुटिल चाणक्य नीतिको प्रयोगवाट नेपाललाई गलाउने, थकाउने र अन्त्यमा लम्पसार पर्न बाध्य वनाउने तर्फ उद्धत रहेको कुरा विभिन्न घटनाक्रमहरुले पुष्ट्याई गर्दछ।

एकातर्फ भारत यसै रणनीति अनुरुप बिगत केही दिन यता वाट नेपालमा भारतका राजदूत लगायत र का स्वदेशी र बिदेशी एजेन्टहरु र सरकार वा दलका बिपक्ष नेताहरु संगको बाकुलो छलफल, भेटघाट र सौदावाजीहरु भईरहेको कुरा सामाजिक संजालहरुमा छ्याप छ्याप्ति आईरहेको छ भने अर्कातर्फ मुलुकमा सरकार पक्षिय दलको आन्तरिक बिवाद, खिचातानी , आरोप, प्रत्यारोप चरमोत्कर्षमा पुगि गम्भीर दुर्घटना हुन सक्ने खतरामा रहेको छ। यहाँ बर्तमान प्रधानमन्त्रीको राजिनामा मात्र होईन संघियताको प्रतिकको रुपमा रहेको संस्था राष्ट्रपति समेतलाई महाअभियोग लगाई सत्ताच्यूत गर्ने र कोही राष्ट्रपति, कोही प्रधानमन्त्री , कोही दलको अध्यक्ष र अन्य विभिन्न पदहरुमा भागवण्डा मिलाउने सम्मको योजना र षडयन्त्रहरु भण्डाफोर हुँदै आईरहेकोछ।

यसप्रकारले यो मुद्धा अब दलको आन्तरिक विवाद भन्दा पनि देशभक्त, राष्ट्रियता,सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका पक्षधर र भारतीय बिस्तारवाद,हैकमवाद,लम्पसारवाद र लेण्डुपवाद पक्षधरवीचको लडाईको रुपमा परिणत हुदैगईरहेको छ।

हालको बर्तमान परिस्थीतिमा अब एकपटक सरकारका कमिकमजोरीहरुलाई केही समयको निमित्त निलम्बनमा राखी राष्ट्रियता , सार्वभौमिक्ता, अखण्डता र स्वाधिनताको पक्षमा आम जनसमुदाय र सिङ्गो राष्ट्र एकजुटभै विजय हांशिल गर्नु पर्ने समय आएको छ अन्यथा यश लडाईमा पराजित भएको खण्डमा कुनै दल वा ब्यक्ति पराजित नभई सिङ्गो राष्ट्र पराजित हुने कुरा चेतना भया।

(लेखक श्रेष्ठ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(अ.प्रा.) हुन । )



प्रतिक्रिया दिनुहोस्