Logo

देउवालाई फकाउन ओली र प्रचण्ड निकटस्थको दौडधुप, देउवाको साथ कसलाई ?



काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेलगत्तै उक्त दलका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सम्पर्क बढाएका छन् । देउवाले गत हप्ता ओलीसँग भेटिसकेका छन् । उनीसँग प्रचण्ड निकटस्थ पनि पुगिरहेको खुलेको छ ।

आज देउवाले केन्द्रीय कार्यसमिति बैठकमा आफूसँग ओली र देउवाका मान्छेहरुले सम्पर्क बनाएको खुलाए । दुवै पक्षले सघाउन भनेको बैठकमा सहभागी एक नेताले बताए । देउवाले कसैलाई पनि वचन नदिएको जानकारी दिएका छन् ।

आजै देउवालाई प्रधानमन्त्री ओलीको दुत बनेर सुवासचन्द्र नेम्वाङले भेटेका छन् । उनले भेटेको स्वीकार्दै समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरेको बताए । विश्वस्त स्रोतका अनुसार नेम्वाङले सरकारलाई साथ दिन प्रस्ताव गरेका थिए । भविष्यमा ओलीमाथि अविश्वासको प्रस्ताव आउन सक्ने बुझाईका आधारमा नेम्वाङले साथका लागि कुराकानी गरेको बुझिएको छ ।

यसैगरी, प्रचण्ड निकटस्थ पनि देउवा कहाँ पुगेर भविष्यमा उत्पन्न परिस्थितिबारे छलफल गर्दै मिलेर जानेबारे कुराकानी गरेका थिए । यसरी देउवालाई दुवै पक्षका नेताहरुले फकाउन थालेका छन् ।

नेकपा कथंकदाचित् फुट्यो भने ओली स्वतः अल्पमतमा पर्नेछन् । उनलाई कम्तिमा नेपाली काँग्रेसका सांसदहरुको साथ चाहिनसक्छ । ओली पक्षले त्यसका लागि देउवासँग भेटघाट तिव्र पारेको हो । अमेरिकी सहयोगसम्बन्धी एमसीसी संसदबाट पारित गराउन मिलेर जान सकिने ओली पक्षको देउवासँग प्रस्ताव रहेको बुझिएको छ ।

पार्टी फ्ट्यो भने प्रचण्डका लागि ओलीलाई हटाउन फेरि काँग्रेसको साथ चाहिनसक्छ । कम्तिमा ओलीलाई प्रधानमन्त्रीमा रहिरहन नदिन पनि काँग्रेसले साथ नदेओस् भन्ने प्रचण्ड पक्षधरको चाहना छ । त्यसैले दुवै पक्ष देउवालाई फकाउन लागिपरेको छ । उनले कसैलाई साथ दिने नदिने नखुलाइसकेको बुझिएका ेछ ।



प्रतिक्रिया दिनुहोस्