Logo

ओली र प्रचण्डमध्ये कस्ले मार्लान् बाजी ?



काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टी फुट्न नदिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निकटस्थहरु निकै सक्रिय भएका छन् । योसँगै उनीहरु सम्भावित फुटपछिको तयारीमा समेत जुटेका छन् । पार्टी फुट्न नदिन र फुटेमा के गर्ने भनेर दुवै पक्ष सक्रिय भएपछि भोलि वार कि पारको टुंगो लाग्ने निश्चितप्रायः छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले भोलि विहान निर्णायक वार्ता गर्नेछन् । आज राति अबेरसम्म दुवै पक्ष आ आफ्नो योजनामा जुटेका छन् । सहमति बनाउने प्रयासमा एकाथरी सक्रिय छन् । अर्काथरी संसदको अंकगणित मिलाउन सक्रिय भएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई समेत कित्ताकाट गरेर आउन भनेपछि यस्तो अवस्था बनेको हो ।

प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलगायत नेताहरु ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाइछाड्न लागेका छन् । उनीहरु टसमस हुने छाँट देखिदैन । ओली कुनै हालतमा दुवै पद नछाड्ने अडानमा छ । यसरी दुवैपक्षबीच एक अर्कालाई कमजोर बनाउने सक्रियता बढेको छ ।

अब ओली र प्रचण्डमा कस्ले मार्ला बाजी ? यसमा सबैको चासो बढेको छ । हालको राजनीतिक दलसम्बन्धी ऐनले नेकपालाई फुट्न दिदैन । पार्टी एकता भएको पाँच वर्षसम्म फुटाउन नमिल्ने व्यवस्था छ । यसैले नेकपा फुटाउन सक्ने ओली मात्र छन् । उनले अध्यादेश ल्याएर पार्टी फुटाउन सहज बनाउन सक्छन् । तर, प्रचण्डको हातमा अध्यादेश ल्याउनसक्ने अवस्था छैन । त्यसकारण पनि अध्यादेश ल्याएर ओलीले मात्र पार्टी विभाजन गर्ने ढोका खोल्न सक्छन् ।

ओली र प्रचण्ड दुवै मिलेमा नेकपाभित्र ठुलो जित हुनेछ । तर, दुवै नेता मिल्न नमानेमा दुर्घटनाको सम्भावना बढ्छ । ओली दुई तिहाईको सरकार हुँदै भारी बहुमत सांसदको संख्यामा झरेर अल्पमतमा पर्न सक्छन् । उनले त्यसपछि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको साथ लिनुपर्ने हुनसक्छ ।

प्रचण्डले पनि काँग्रेस र जसपाको साथ लिनुपर्ने अवस्था आउनसक्छ । जसरी पनि अल्पमतमा परेर बहुमतको सरकार बनाउन कठिनाई पर्नसक्छ । यसरी ओली र प्रचण्ड दुवै अब कमजोर बन्नसक्छन् । बल उनीहरुबाहेकको कोर्टमा पुग्नसक्छ ।



प्रतिक्रिया दिनुहोस्