Logo

नेकपामा केन्द्रीय कमिटी बैठकको माग



काठमाडौं, असार २२ । नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो ।

प्रधानमन्त्रीको राजीनामा प्रकरणले नेकपा शीर्ष नेतामा बढ्दै गएको दुरीका बीचमा सहमतिको मिलनबिन्दु खोज्ने प्रयास भए पनि उपलब्धि शून्य भएको छ । ओली र दाहाललाई सहमतिमा ल्याउन दोस्रो पुस्ताका शीर्ष नेताहरूले पहल थालेका छन् ।

ओली र दाहालका बीचमा भएको छलफलमा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, वर्षमान पुन, जनार्दन शर्मासमेतको सहभागिता रहेको थियो ।

नेकपा महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको र थप छलफलका लागि सोमबार पुन छलफल गर्ने सहमति भएको बताए । सोमबार स्थायी कमिटी बैठकसमेत बोलाइएको छ । बैठक बस्नुभन्दा अघि दुई अध्यक्षका बीचमा छलफल गर्ने सहमति भएको छ ।

यस्तै, उपप्रधान, रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेल, महासचिव पौडेल, स्थायी कमिटीका सदस्य एवं ऊर्जामन्त्री पुन, स्थायी कमिटी सदस्य शर्मासहितको चार सदस्यीय एक कार्यदल गठन भएको छ ।

अनौपचारिक रूपमा गठन भएको यो कार्यदलले सहमतिको मिलनबिन्दु खोज्ने प्रयास गर्ने बताइएको छ । यो कार्यदलको आइतबार साझ दाहाल निवास खुमलटारमा बैठकसमेत बसेको नेकपा स्रोतले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउन लागि हस्ताक्षर अभियान सुरु गरेका छन् । पार्टीलाई विधि, पद्धति र विधानअनुसार सञ्चालन गर्नुपर्ने, पार्टी विभाजन रोक्नुपर्नेलगायतका मागसहित विगत दुई दिनदेखि केन्द्रीय कार्यालयमा सांकेतिक धर्ना दिइरहेका केन्द्रीय सदस्यले अब सबै विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठकको आवश्यकता रहेको जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्