Logo

नेपाली सेनालाई ४३ मिसनको अनुभव



काठमाडौं, असार २३ । विभिन्न मुलुकमा स्थापना भएका ४३ वटा मिसनमा खटिएर हालसम्म एक लाख २९ हजार ९१७ नेपाली शान्ति सैनिकले विश्व शान्तिका लागि योगदान पु¥याइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका १२ मिसनमा रही तत् देशमा शान्ति स्थापनार्थ पाँच हजार ९१ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिकमा खटिने महिला सैनिकको सङ्ख्या हाल १८० जना छ ।

नेपाल प्रहरीका २३९ र सशस्त्र प्रहरी बलको ३४६ को सङ्ख्यामा जनशक्ति विभिन्न द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि खटिरहेको छ । त्यसरी खटिने क्रममा हालसम्म ६८ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ सैनिक गम्भीर घाइते भएका सेनाले जानकारी दिएको छ ।

अहिले शान्ति सैनिक धेरै पठाउने मुलुकको सूचीमा नेपाल चौँथो वरियतामा छ । संयुक्त राष्ट्रसङ्घलाई नेपालले १० हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक उपलब्ध गराउन सक्ने जानकारी दिइसकेको छ ।

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि गरेको योगदानका आधारमा फोर्स कमाण्डरलगायत उच्चतहको जिम्मेवारी पाउनुपर्ने माग गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्