Logo

खुमलटारमा ६ भाई भेला, अब के होला ?



काठमाडौं, २३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा बादल छलफलमा जुटेका छन् । पार्टीभित्र बढ्दै गएको विवाद कसरी हल गर्ने भन्नेबारेमा पछिल्ला दिन अध्यक्षद्धय केपी शर्मा ओली र दाहालबीच भेटवार्ता भैरहेका छन् ।

त्यही भेटवार्ताबारे दाहालले आफ्ना समूहका नेताहरुलाई जानकारी गराउँदै आएका छन् । दाहाल-नेपाल समूहले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् भने ओलीले कुनैपनि हालतमा राजीनामा नदिने अडा लिएका छन् । ओलीले आफूलाई हटाएर देखाउन चूनौति नै दिएका छन् ।

तर, नेकपाका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई जोगाउनको लागि पनि शीर्ष नेताहरु खासगरी अध्यक्षद्धयबीच सहमति कायम गर्नुको विकल्प नभएको भन्दै मिल्न दबाब दिईरहेका छन् । दाहाल-नेपाल समूह ओलीलाई दुईमध्ये एक पदबाट हटाउनको लागि राजी भएको छ । यसअघि दुवै पदबाट हटाउन खोजेको उक्त समूहले अहिले दुवै पदबाट हटाउने अडानबाट एक कदम पछि हटेर प्रधानमन्त्रीबाट ओलीलाई हटाउने भन्दै लचकता प्रस्तुत गरेको स्रोतको दाबी छ ।

स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्दैछ । त्यो भन्दा अघि सहमतिको लागि प्रयास गरिने नेताहरुले जनाउँदै आएका छन् । यही सेरोफेरोमा कसरी अघि बढ्ने भन्नेबारे रणनीति तय गर्न यतिवेला दाहाल निवास खुमलटारमा दाहाल-नेपाल समूहका नेताहरु भेला भएका छन् ।

आइतबार र सोमबार अध्यक्षद्धय ओली र दाहालीच एक्लाएक्लै भेटवार्ता र छलफल भएका थिए । उक्त छलफलमा दुई अध्यक्षबीच सहमति भएको हल्ला बाहिर आएका थिए । माधव नेपाल समूहलाई बाईपास गरेर दाहालले ओलीसँग सम्झौता गरेको र नेपाल समूह दाहालसँग असन्तुष्ट बनेको कुरा बाहिर आएका छन् । नेता नेपालले भने दाहालले आफूहरुलाई धोका नदिएको स्पष्ट पारेका छन् ।

ओलीले पार्टीको विधि, विधान र पद्धतीलाई ठाडै चूनौति दिएको भन्दै अब स्थायी कमिटीको बैठक धेरै लम्ब्याउन नहुनेमा दाहाल नेपाल समूहका ६ भाई नेता वारपार गर्नुपर्ने निश्कर्षमा पुगेको स्रोतको दाबी छ । ओलीले दुवै पदबाट नहट्ने भनेर चट्टानी अडान लिएपछि दाहालसँगको भेटवार्ता खासै सकारात्मक हुन सकेका छैनन् । ओलीलाई बहुमतका आधारमा कारबाही गरेर अघि बढ्दा उनले पार्टी नै फुटाउनसक्ने डर दाहाल नेपाल समूहलाई छ । त्यतिमात्रै होईन, ओलीले आफ्नो पद जोगाउनको लागि जस्तोसुकै हत्कण्डापनि अपनाउन सक्ने भन्दै दाहाल र नेपाल सशंकित बनेका छन् ।

नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दा देशभित्रका प्रमुख समस्याहरुप्रति सरकारको खासै ध्यान गएको छैन् । खुमलटारको आजको भेलाले अब के गर्ला ? ओलीसँग मिलेर जानेगरि लचकता अपनाउने अर्थात आत्मसमर्पण गर्ला ? कि वा बहुमतको आधारमा अघि बढ्ला ? भन्ने सबैको चासोको विषय बनेको छ । File Photo/ReportersNepal-Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्