Logo

नेकपा फुटे सत्ता पक्ष र प्रमुख प्रतिपक्षी को ?



काठमाडौं, २३ असार । नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा छ । फुट जोगाउन नेताहरुबीच अन्तिम प्रयास भइरहेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सत्ता नछाड्ने अडानमा छन् । उनलाई छाड्न वाध्य बनाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमको समुह एक ढिक्का भएको छ ।

आज अन्तिम पटक ओलीलाई गलाउन प्रयास गर्ने तयारी उक्त समुहको छ । ओली भने विरोधीलाई गलाउन लागिपरेका छन् । त्यसका लागि उनले सबै संयन्त्र परिचालन गरेका छन् । नेकपा फुटाउन सक्ने क्षमता ओलीसँग मात्र छ किनभने त्यसका लागि अध्यादेश ल्याएर राजनीतिक दलसम्बन्धी ऐनका केही बुँदामा परिवर्तन गर्नुपर्नेछ ।

नेकपामा कस्को पक्षमा कति सांसद छन् भन्ने आ आफ्नै दाबी छ । कुल २७५ प्रतिनिधिसभाको सदस्य संख्यामध्ये नेकपासँग १७४ छन् । यो भारी बहुमत हो । उक्त संख्यामध्ये ओली पक्षले ८० भन्दा बढी रहेको दाबी गरेको छ । विरोधी समुहले एक सय सदस्य संख्या रहेको दाबी गर्दै आएको छ ।

रिपोर्टर्स नेपालले गरेको अध्ययनले नेकपामा दुवै पक्ष प्रतिनिधिसभामा बराबरको अवस्थामा छ । तर, पार्टी फुटको समयमा यताउता संख्या हुनसक्छ । दाबी गरिएपनि ओलीसँग बढीमा ६५ देखि ८४ को बीचमा सांसद पुग्न सक्छन् । ओली इतर समुहमा ८० देखि १०० सम्म संख्या पुग्न सक्छ ।

नेकपा फुटेमा ओली सत्तामा रहिरहन नेपाली काँग्रेस र जनता समाजवादी पार्टी दुवैको समर्थन चाहिन सक्छ । दुवै दलले समर्थन गर्ने सम्भावना कम छ । गरिहालेमा पनि ती दलमा निर्णय गर्न कठिनाई पर्न सक्छ ।

नेकपा फुटेमा प्रचण्डलगायतको समुहले नेपाली काँग्रेस या जनता समाजवादी पार्टी कुनै एकसँग मिलेर सरकार बनाउन सक्ने सम्भावना भने बलियो हुन्छ । त्यस्तो अवस्थामा काँग्रेस तेस्रो ठुलो दलमा सिमिति हुनपुग्ने अवस्था बन्न सक्छ । प्रमुख प्रतिपक्षी दलमा ओली समुह नै हुनसक्छ । सत्ताको खेलले दल फुट्दा चार साना दलका चार सांसदको भुमिका पनि महत्वपूर्ण हुनसक्छ ।

प्रतिनिसभामा कस्को कति सिट
नेकपा- १७४
नेपाली काँग्रेस- ६३
जनता समाजवादी पार्टी- ३४
अन्य- ४
कुल- २७५



प्रतिक्रिया दिनुहोस्