Logo

आइजीपीका लागि शैलेश थापाको नाम गृहद्वारा सिफारिश, मन्त्रिपरिषदले आजै निर्णय गर्ने



काठमाडौं, २३ असार । नेपाल प्रहरीले आज नयाँ आइजीपी पाउने भएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ आइजीपी नियुक्त गर्ने भएको हो । कार्यक्षमता र वरिष्ठताका आधारमा मुल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रको नाम सिफारिश गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषदले यसैका आधारमा नियुक्ति गर्न सक्छ ।

भक्तपुरका स्थायी बासिन्दा शैलेश आइजीपीका प्रतिष्पर्धी हरिबहादुर पाल हुन् । दुवैजना हाल दोस्रो र तेस्रो नम्बरका एआइजी हुन् ।

आइजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल यसै हप्ता सेवानिवृत्त हुने भएकाले थापा र पालमध्ये एक आइजीपी बन्ने निश्चित भइसकेको थियो । अब बन्ने आइजीपीको कार्यकाल २० महिना हुनेछ । अब बन्ने आइजीपीको कार्यकाल १७ वैशाख २०७९ सम्म हुनेछ । २० महिना कार्यकाल हुने भएकाले आइजीपी नियुक्तिमा सत्तारुढ दलका नेताहरुले चासो बढी लिएका छन् ।

यसपटक थापा र पाल दुवैले आइजीपी बन्न अस्वस्थ प्रतिष्पर्धा गरेनन् । थापा सालिन मानिन्छन् । उनले जोखिमयुक्त क्षेत्रमा भने कमैमात्र कमाण्ड सम्हालेका छन् । पाल कमाण्डमा कडा मानिन्छन् ।

यसैगरी, आइजीपी नियुक्तिसँगै खाली हुने दुई एआइजीमा पनि प्रतिष्पर्धा शुरु भइसकेको छ । एआइजी बन्न निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल बीच प्रतिष्पर्धा छ ।



प्रतिक्रिया दिनुहोस्