Logo

जर्नेलहरुको घरमा सुनको थुप्रो ?



काठमाडौं, २३ असार । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र शुद्धीकरण अभियान चलाएका छन् । जसअनुसार उनले गत वर्ष सम्पत्ति समेत सार्वजनिक गरे । अरुलाई पनि सर्वाजनिक गर्न आग्रह गरे । तर, हालसम्म सात जनाले मात्र सम्पत्ति सार्वजनि गरेका छन् ।

धेरैले पैतृक सम्पत्ति बाहेक आफुसँग केही नरहेको देखाएका छन् । कतिपयले त ऋणमा रहेको देखाएका छन् । जर्नेलहरुको घरमा सुन भने प्रशस्न रहेको देखिन्छ । सार्वजनिक गरिएका सम्पत्ति विवरण अविश्वससनिय देखिन्छ ।

प्रधानसेनापति थापासँग ५५ तोला सुन, ५ सय ९० तोला चाँदी तथा हार रहेको उल्लेख छ । उनको नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आईएमई बैंकमा खाता छ । डलरसहित रकम उनको बैंक खातामा २५ लाख रुपैयाँ छ । उनको श्रीमती दीपाले मेघा बैंकको प्रमोटर शेयर खरिद गरेकी छिन् । त्यस्तै शिव श्री हाइड्रोपावरमा समेत लगानी गरेका छन् । घर र गाडी किन्दा अझै ऋण रहेको उनले देखाएका छन् । उनको काठमाडौंको विभिन्न ठाउँमा आठ रोपनी तथा लमजुङमा १२ रोपनी जग्गा छ ।

त्यस्तै भावी सेनापति ठानिएका रथी प्रभुराम शर्मासँग काठमाडौं र ललितपुरमा १३ रोपनी जग्गा छ । त्यसमध्ये साढे १२ रोपनी पैतृक र ८ आना सैनिक सहचारी हुँदा कमाएको पैसाले खरिद गरेको उल्लेख गरेका छन् । उनको बैंक खातामा ४७ हजार अमेरिकी डलर र १९ लाख रुपैयाँ छ । उनीसँग सुनका गहना साढे १३ तोला रहेको उल्लेख गरेका छन् ।

उपरथी अनन्न कार्कीले २० तोला सुन देखाएका छन् । उनले दुई वटा बन्दुक समेत घरमा राखेको विवरणमा उल्लेख गरेका छन् । इराकमा शान्ति सेनामा जाँदा खटिएको पैसाले काठमाडौंमा घर बनाउने बाहेक अरु पैतृक सम्पत्ति मात्र भएको उनको दाबी छ ।

हालै प्रवक्ताबाट सुर्खेतस्थित बाहिनीमा सरुवा भएका सहायक रथी विज्ञानदेव पाण्डेसँग ४० तोला सुन छ । १२ वटा बैंकमा खाता भएपनि १० लाख रुपैयाँ मात्र बचत देखाएका छन् । आफु लाखौं ऋणमा रहेको उनको विवरणमा उल्लेख छ ।

उपरथी राजेन्द्र कार्कीसँग ललितपुरमा तीन वटा घर छन् । सुन उनी धनी देखिएका ७५ तोला सुन रहेको उल्लेख गरेका छन् । आफुसँग कुनै निजी गाडी नभएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

उपरथी रघु भण्डारीको काठमाडौंमा दुई वटा घर छन् । धादिङ र मकवानपुरमा पाँच ठाउँमा जग्गा रहेको देखाएका छन् । उनीसँग ५५ तोला सुन छ । उनको परिवारको बैंक खातामा ५७ लाख रुपैयाँ बचत छ ।

सहायक रथी प्रेम शाहीले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको काठमाडौं, कञ्चनपुर र डोटीमा चार वटा घर छन् । ६ ठाउँमा उनको जग्गा छ । सुनमा उनी पनि धनी छन् । उनले सम्पत्ति विवरणमा ७० तोला सुन रहेको उल्लेख गरेका छन् । उनले तीन वटा बन्दुक लाइलेन्ससहित घरमा राखेका छन् ।

सेनाले सम्पत्ति सार्वजनिक गरेपनि सैनिक अधिकारीको सम्पत्तिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न पाउँदैन । सेनाले पछिल्लो समयमा भ्रष्टाचारमा संलग्न सैनिकविरुद्ध भने कारबाहीमा तिव्रता दिएको छ ।दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्