Logo

नेपालमा सङ्क्रमण दर ओरालो लाग्दै, चार जिल्ला कोरोना ‘फ्री’



काठमाडौँ, २३ असार : पछिल्ला पाँच दिनमा कूल परीक्षणको तुलनामा सङ्क्रमित हुनेको प्रतिशत निरन्तर घटिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले बताएका छन् । मन्त्रालयको नियमित ब्रिफिंगमा कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसिरहेकाको सङ्ख्या पनि घट्दो रहेको प्रवक्ता डा गौतमले बताएका हुन् । यही असार १९ गते नयाँ पोजेटिभको सङ्ख्या ७४० (१६.५ प्रतिशत), २० गते २३२ (५.७ प्रतिशत), २१ गते २९३ (६.२ प्रतिशत), २२ गते १८० (३.८२ प्रतिशत) र आज २०४ अर्थात् ३.३ प्रतिशत नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

यस्तै आइसोलेशनमा उपचाररत सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । यही असार १९ गते आइसोलेशनमा कूल नौ हजार ८४ सङ्क्रमित उपचारत रहेकामा २० गते नौ हजार ४२, २१ गते नौ हजार २०३, २२ गते नौ हजार ११८ र २३ गते आठ हजार ६३४ जना उपचारका क्रममा रहेका छन् । प्रदेश २ मा महोत्तरी र रौतहट, प्रदेश ५ पाल्पा र सुदूरपश्चिम प्रदेशमा अछाम, कैलाली र बाजुरमा अहिले पनि ५०० भन्दा बढी सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको उनले जानकारी दिए ।

पिसिआर परीक्षणमध्ये कूल सङ्क्रमणको दर ६.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै कोरोना पोजेटिभमध्ये मृत्युदर ०.२ प्रतिशत र जम्मा मृत्युप्रति दश लाख (पोजेटिभ)मा १.२ प्रतिशत रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् ।

कूल ७७ जिल्ला नै कोरोना प्रभावित भएकामा पछिल्लो समय चार जिल्ला ‘कोरोना फ्री’ भएका छन् । प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा कोरोनाको ‘एक्टिभ केस’ नरहेको प्रवक्ता डा गौतमले बताए । “चारवटा जिल्लामा अहिले कुनै पनि कोरोना सङ्क्रमित बिरामीहरु हुनुहुन्न,” उनले बताए । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्