Logo

शैलेश थापा नेपाल प्रहरीका २८औं आइजीपी



काठमाडौं, २३ असार । सरकारले शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको २८औं आइजीपीका रुपमा बढुवाको निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई आइजीपी बढुवा गर्ने निर्णय गरेको हो ।

५२ वर्षीय थापाले १९ वैशाख २०७९ सम्म प्रहरीको कमाण्ड सम्हाल्नेछन् । उनी सालिन प्रहरी अधिकृतका रुपमा परिचित छन् । वरिष्ठता र कार्यक्षमताका आधारमा क्षेत्री आइजीपी बढुवा भएका हुन् ।

यसअघि कार्यक्षमता र वरिष्ठताका आधारमा मुल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रको नाम सिफारिश गरेको थियो । मन्त्रिपरिषदले यसैका आधारमा नियुक्ति गरेको हो ।

भक्तपुरका स्थायी बासिन्दा शैलेश थापाका बाबु शम्भु थापा पनि नेपाल प्रहरीमा डिआइजीबाट सेवानिवृत्त भएका थिए । उनले उपत्यका प्रहरीको कमाण्ड सम्हालेका थिए ।

शैलेश थापा क्षेत्रीका प्रतिष्पर्धी हरिबहादुर पाल थिए । दुवैजना दोस्रो र तेस्रो नम्बर वरियताका एआइजी हुन् । आइजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल यसै हप्ता सेवानिवृत्त हुने भएकाले थापा र पालमध्ये एक आइजीपी बन्ने निश्चित भइसकेको थियो । २० महिना कार्यकाल हुने भएकाले आइजीपी नियुक्तिमा सत्तारुढ दलका नेताहरुले चासो बढी लिएका थिए । यसपटक थापा र पाल दुवैले आइजीपी बन्न अस्वस्थ प्रतिष्पर्धा गरेनन् ।

यसैगरी, आइजीपी नियुक्तिसँगै दुई एआइजीमा पनि प्रतिष्पर्धा शुरु भइसकेको छ । एआइजी बन्न निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेलबीच प्रतिष्पर्धा छ ।



प्रतिक्रिया दिनुहोस्