Logo

कसरी बढे काठमाडौँमा कोरोना सङ्क्रमित



काठमाडौँ, २३ असार : विदेशबाट आउने, लुकिछिपी उपत्यका प्रवेश गर्ने र उपचारका लागि अस्पतालमा आउने व्यक्तिबाट उपत्यकामा सङ्क्रमण बढेको जनाइएको छ । विदेशमा अलपत्र परेको नागरिकको उद्धार गरिँदा उपत्यकामा केही सङ्क्रमण बढ्न गएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ठम्याइ छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सम्बन्धित मुलुकले पिसिआर परीक्षण गरेर नपठाउँदा विदेशबाट आउनेमा सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ । विदेशबाट उद्धार गरी ल्याइएका करीब १७ हजार व्यक्तिमध्ये ३५ प्रतिशतले पिसिआर, ३५ प्रतिशतले आरडिटी विधिबाट परीक्षण गरेको र बाँकीले कुनै पनि परीक्षण नगरेको पाइएको महाशाखाले जनाएको छ । कोरोनाको लक्षण देखिएको व्यक्ति पनि आएका छन् ।

केही व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको हेल्थ डेस्कबाट सिधैँ अस्पताल पठाइएको महाशाखाका निर्देशक पाण्डेले बताए । खाडीका साउदी अरेबिया, कुवेत, माल्दिभ्सलगायत मुलुकबाट सङ्क्रमित आएको अवस्था छ । आयातीत सङ्क्रमितबाट उपत्यकामा जोखिम बढेको छ÷छैन भनेर अध्ययन गर्न विभिन्न १२ स्थानमा नमूना परीक्षण गरिएको उनले बताए । तीमध्ये नख्खुटोल र तीनकुनेमा २२८ जनाको नमूना परीक्षण गर्दा कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको उनले जानकारी दिए । “अन्य नौ ठाउँको पनि नमूना सङ्कलन भइरहेको, एक-दुई दिनमा नतिजा आउँछ, त्यसपछि काठमाडौँको के अवस्था छ भन्ने प्रस्ट हुन्छ”, उनले भने । महाशाखाका निर्देशक पाण्डेले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर हेलचेक्र्याइँ नगर्न अपिल गरे ।रासस/ Photo By: Mukund Kalikote



प्रतिक्रिया दिनुहोस्