Logo

चिनियाँ राजदूत यान्छीको शिर्ष नेताको घर घर दौडधुपबारे नेताहरु के भन्छन्



काठमाडौं, २३ असार । नेपालको आन्तरिक राजनीतिमा चिनियाँ राजदूत होउ यान्छीले बढाएको सक्रियता र त्यसमा शीर्ष नेताहरुले खेलिरहेको भूमिकाबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेताहरुले आपत्ति जनाएका छन् । पार्टी विभाजन हुन नहुने भन्दै नेतृत्वलाई दबाब दिइरहेका नेकपाका नेताहरुले वैदेशिक हस्तक्षेप स्वीकारेको सन्देश दिइने ढंगका गतिविधि नगर्न शीर्ष नेताहरुलाई चेतावनी समेत दिएका छन् ।

नेकपाकी नेतृ रामकुमारी झाक्रीले मुलुक र पार्टीको आन्तरिक राजनीतिमा कुनै देशका राजदूतको हस्तक्षेप स्वीकार्न सकिने विषय नरहेको बताइन्। झाक्रीले विदेशी राजदूतको हस्तक्षेप स्वीकार गर्ने विगतको परम्परा अहिले नेकपाका नेताहरुले पनि शिरोपरी गरेका हुन् भने त्यो गलत रहेको बताइन् ।

भारतले आफूलाई हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरुले सक्रिय भूमिका निर्वाह गरिरहेको अभिव्यक्ति दिएपछि नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीले राजीनामा माग गरिरहेका छन् । ओलीले अरु छुट्टै पार्टी घोषणा गर्ने तर राजीनामा नदिने अडान लिएपछि विवाद पार्टी विभाजनको संघारसम्म पुगेका बेला उत्तरको छिमेकी चीनले नेकपाको आन्तरिक राजनीतिमा देखिने गरी हस्तक्षेप गर्न थालेको हो ।

विवाद पार्टी विभाजनकोे तहमा पुगेका बेला चिनियाँ राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका विदेश विभाग प्रमुख मावध कुमार नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेकी छिन् । नेपालको आन्तरिक मामिलामा कुनै उदेश्य बोकेर चिनियाँ राजदूतको दौडधुप भइरहेको हो भने त्यो राम्रो विषय नरहेको नेकपाका नेता ठाकुर गैरेले बताए। पार्टी विभाजन गर्न नपाईने भन्दै खबरदारी अभियानको अगुवाई गरिरहनुभएका गैरेले चिनियाँ राजदूतले नेकपाका नेताहरुसँग कुन उदेश्यले भेट गर्नुभयो त्यो प्रष्ट भइनसकेको प्रतिक्रिया दिए।

भारतले आफूलाई हटाउन खोजेको प्रधानमन्त्रीले दाबी गरेको एक सातापछि चिनियाँ राजदूत यान्छीले नेकपाका नेताहरुसँग भेट तीव्र पारेका हुन् । यसअघि पनि पार्टीमा विवाद चुलिएर प्रधानमन्त्रीको राजीनामा माग गरिएका बेला चिनियाँ राजदूत यान्छीकै सक्रियतामा त्यसलाई मत्थर पारिएको घटना ताजै छ । त्यसपछि अहिले नेकपाको संकट मोचनका लागि चीनले सक्रिय हस्तक्षेप देखिने गरी भइरहेको छ । तर नेकपाका नेता बेदुराम भुषाल विदेशीको इशारा भन्दा पनि आफ्नो आन्तरिक विषय प्रमुख हुने बताउँछन् । भारतले के ग¥यो भनेर गरिने हल्ला र अहिले चीन के गरिरहेको छ भनेर भइरहेको हल्ला दुवै गलत रहेको तर्क गरे।

यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्तरिक किचलो हटाउन छाडेर छिमेकी राष्ट्र चीन र भारतलाई आरोप लगाउँदै आफ्नो पार्टी र समग्र रुपमा नेपाल र नेपालीको अपमान गर्ने कार्य बन्द गर्न सत्तारुढ नेकपालाई आग्रह गरेको छ । कांग्रेस नेता मिनेन्द्र रिजालले नेकपाभित्र कुनै देशको राजदूतले धुलो उडाउँदै हिँड्न सकिरहेको विषय साँचो हो भने त्यो घातक हुने बताए । अन्यथा आफ्नो घरझगडाको दोष छिमेकीलाई लगाएर जनतालाई अपमानित गर्ने कार्य बन्द गर्न रिजालले आग्रह गरे ।

राष्ट्रपतिसहित वरिष्ठ नेताहरुलाई चिनियाँ राजदूतले घरघरमै गएर भेटेको विषयलाई कतिपय नेकपाका नेताहरुले शिष्टाचार भेटवार्ता भनेका छन् । तर राजनीतिक विश्लेषक लोकराज बराल यसलाई शिष्टाचार भेट मात्रै भन्न नसकिने बताउँछन् । रातारात भइरहेको दोडधुपलाई सामान्य रुपमा मात्रै बुझ्न नसकिने उनको भनाई छ । नेपालको आन्तरिक मामिलामा पहिले भारतले खेल्ने भूमिका अहिले चीनले खेलिरहेको उहाँको विश्लेषण छ ।

यसैबीच नेकपाको विवाद समाधानका लागि आज बसेको पार्टीका दुई अध्यक्षबीचको बैठकले पनि कुनै ठोस निष्कर्ष निकाल्न सकेन । दुवै अध्यक्षबीच पार्टीको स्थायी कमिटि बैठक नरोक्ने सहमति भने भएको छ । स्थायी कमिटि बैठक भोलि बिहान ११ बजे बोलाइएको छ । कतिपयले चिनियाँ राजदूतको सक्रियतापछि पार्टीभित्रको विवाद मत्थरको दिशामा पुगिसकेको दाबी गरेका छन् ।-रेडियो एनआरएनबाट File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot