Logo

नेपालको राजनीतिमा चीनको सक्रियता, के ओली सरकार जोगाउन चीन लागेकै हो ?



काठमाडौं, २३ असार । नेपालको राजनीतिमा चीनको सक्रियता बढेर गएको छ । यो हप्ता चिनियाँ राजदुत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेतालाई निवासमै गएर भेटेकी छिन् । उनले आजमात्र नेकपा वरिष्ठ नेता झलनाथ खनाललाई डल्लुस्थित निवासमा भेटिन् ।

आइतबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेकी यान्छीले आज खनालसँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ । नेकपामा अहिले निकै ठुलो विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहालसहित छ जना सचिवालय सदस्यले राजीनामा मागेका छन् । स्थायी कमिटीको दुई तिहाई सदस्यले ओलीको राजीनामा मागेका छन् । यसले नेकपामा फुटको खतरा बढाएको छ ।

नेकपाभित्र निकै ठुलो विवाद हुँदा यान्छीकै सक्रियतामा डेढ महिना अघि सहमति भएको थियो । त्यतिबेला पनि उनले प्रचण्ड र नेपालसँग निवासमै भेटेकी थिइन् । नेकपाभित्र चीनको बढ्दो प्रभावका रुपमा यसलाई लिइएको छ । चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच नजिकको सम्बन्ध रहेको छ । दुवै दलबीच संयुक्त प्रशिक्षण समेत हुँदै आएको छ ।

नेकपाभित्र अहिलेको विवाद मिलाउन चिनियाँ सक्रियता बढेसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ । भारतीय मिडियाले ओलीलाई चीनतर्फ ढल्किएको भन्दै उनको सत्ता जोगाउन सक्रिय भएको लेखेको छ । आज इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले ओलीलाई चीनसँग ढल्किएको र उनका लागि चिनियाँ राजदुतको सक्रियता देखिएको भनेको छ । ओलीले भारतीय मिडियाको बेला बेलामा आलोचना समेत गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्