Logo

प्रहरी प्रमुखमा विवादरहित बढुवा



काठमाडौं, असार २४ । सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक (आइजिपी) पदमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८औं महानिरीक्षकमा एआइजीको वरीयतामा पहिलो नम्बरमा रहेका थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनीसँगै महानिरीक्षक बन्ने दौडमा अर्का एआइजी हरिबहादुर पाल थिए । सरकारले दुई जनामध्ये कार्यक्षमता तथा वरिष्ठताका आधारमा थापालाई प्रहरी महानिरीक्षक बनाएको हो । प्रहरी प्रमुखमा बढुवा भएका थापाको कार्यकाल १९ वैशाख २०७९ सम्म हुनेछ । उनले बिहीबार कार्यभार सम्हाल्नेछन् ।

२७औं महानिरीक्षकका रूपमा बढुवा भएका ठाकुर ज्ञवालीले आजबाट ३० बर्से सेवा हदका कारण अनिवार्य अवकाश पाउँदै छन् । ज्ञवाली अवकाश हुने भएपछि सरकारले नयाँ प्रहरी प्रमुख नियुक्त गरेको हो । ज्ञवालीसगै एआइजी तारिणी लम्साल र डिआइजी सूर्य उपाध्यायले पनि ३० बर्से सेवा अवधिका कारण अवकाश पाउँदै छन् ।

सरकारले यसअघि एआइजी पद रिक्त हुँदा डिआइजीबाटै सिधै प्रहरी महानिरीक्षक बनाउँदै आएको थियो । ज्ञवालीसमेत डिआइजीबाटै प्रहरी प्रमुख बनेका थिए । तर, यसपटक भने थापालाई चार वर्षपछि एआइजीबाटै प्रहरी प्रमुख बन्ने अवसर जुरेको हो ।

यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आइजिपी ज्ञवालीले एआइजीको अनुभव नै प्राप्त नगरी सिधै डिआइजीबाटै प्रहरी प्रमुख बन्ने अवसर पाएका थिए । प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षकमा एआइजीबाट वा एआइजी नभएको अवस्थामा डिआइजीबाट बढुवा गर्न सकिने उल्लेख छ ।

त्यसअघि २०७० मंसिरमा आइजिपी बनेका उपेन्द्रकान्त अर्यालले १४ दिन मात्रै एआइजीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरीको २५औं महानिरीक्षकमा प्रकाश अर्याल डिआइजीबाट सिधै आइजिपी बनेका थिए । आइजिपी हुनुअगाडि अर्यालले करिब ४ वर्ष ४ महिना डिआइजीको जिम्मेवारी सम्हालेका थिए ।

सरकारले यसपटक बिनाविवाद सहमतिमै एआइजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बनाएको हो । यसअघि प्रहरी महानिरीक्षक नियुक्तिका क्रममा प्रधानमन्त्री, गृहमन्त्री र सरकारमा सहभागी दलका नेताबीच नै पक्ष विपक्षमा खिचातानी चल्ने गरेकामा यसपटक विवादबिना नै प्रहरी संगठनले नेतृत्व पाएको हो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्