Logo

ओली-प्रचण्ड अझै सहमति बनेन, स्थायी कमिटीले के निर्णय लेला ?



काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आज बस्दैछ । विहान ११ बजेका लागि तय भएको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समिक्षा गर्ने बताइएको छ । बैठकले निर्णय लिने वा नलिने अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलको परिणाममा निर्भर हुनेछ ।

लगातार बैठक स्थगन भएपछि आजको छलफल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि बैठक लगातार स्थगित हुँदै आएको थियो । बैठकले यसबारे टुंगो लगाउने अपेक्षा गरिएपनि निश्चित छैन ।

बैठक अगावै ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर कुनै सहमति निकाल्ने सम्भावना पनि रहेको छ । हिजो दुई नेताबीचको बैठकमा केही आशालाग्दा कुराकानी भएका छन् । तर, परिणाम निस्कन सकेको छैन ।

ओली राजीनामा दिन तयार छैनन् । बरु उनले मिलेर जाने अन्य विकल्प दिएका छन् । तर, उनको विरोधी पक्ष राजीनामाको एजेन्डामा केन्द्रित छ । यसरी भोलिको बैठकमा कुनै सहमति गरेर जाने सम्भावना पनि देखिएको छ । तर, दुर्घटनाको खतरा अझै टरेको छैन ।

नेकपा विवाद चलिरहँदा आन्तरिक र बाह्य सक्रियता बढेको छ । नेकपाभित्रका मध्यमार्गी नेताहरु पार्टी एक बनाइरहन सक्रिय छन् । चिनियाँ राजदुत होउ यान्छी पनि सक्रिय भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्