Logo

केही नेताको गलत नियतका कारण एमसीसीको ५६ अर्ब रकम फिर्ता जाने अवस्था आयोः डा महत



काठमाडौं, असार २४ । पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले चीन सरकारले ल्याएको बेल्टएण्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाभन्दा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा भएको बताएका छन् ।

उनले सत्तापक्षका केही नेताहरुको गलत नियतका कारण विगत लामो समयदेखि छलफल र गृहकार्य हुँदै आएको एमसीसीको ५६ अर्ब रकम फिर्ता जाने अवस्थामा पुगेको दावी गर्नुभयो ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता महतले चीनको विआरआईभन्दा पनि एमसीसी नेपालको हितमा रहेको र एमसीसीमा नेपाललाई हानी हुने कुनै व्यवस्था नरहेको जिकिरसमेत गरे।

केही पुर्वाग्रही व्यक्तिहरुको नियोजित गलत व्याख्याका कारण सर्वसाधारणमा भ्रम परेको बहकावमा विरोध भइरहेको उनको बुझाई छ । नेपालको उन्नतिका लागि एमसीसी परियोजना उपयुक्त भएको र यसमा भएका कुनैपनि सहमति एवं सर्तहरु नेपालको संविधान र कानूनभन्दा माथि नरहेको डा महतले दावीसमेत गरे ।

एमसीसीमा भएको विवादका कारण अमेरिकालागयतका दातृ निकायसँगको सम्बन्धमा असर पुग्ने भन्दै महतले नेपाल सरकारले एमसीसीपारित नगरे कोरोना संक्रमणले आर्थिक संकटमा परेको अमेरिकालाई फाइदै हुने धारण राखे ।

उनले भने,‘विगत ७० वर्ष अगाडी देखि नेपाललाई सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध विग्रियो भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंकलगायतका दर्जनौ सहयोगीहरु पनि नेपालबाट टाढिने संभावना हुन्छ ।”

डा महतले संसदको विशेष अधिवेशन बोलाउने विषयमा पार्टीमा निर्णय नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हठातमा संसद अधिवेशन अन्त्य गर्नु गलत भएको बताए । संसदमा धेरै विधेयकहरु रोकिएका र धेरै विषयहरु विचाराधिन रहेपनि नेकपाको आन्तरिक कलहले गर्दा संसद अन्त्य हुनपुगेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्