Logo

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य



काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा सत्ता नछाड्ने अडान लिएपछि उनका विरोधी समुह गल्दै गएका छन् । ओलीले पार्टी विभाजनसम्मको निर्णय लिनसक्ने देखेर त्रसित बनेको विरोधी समुहले अब केही पाइला पछि सारेर भएपनि सहमतिको प्रयास गर्न थालेका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पटक पटक ‘वन टु वन’ बसेर कुराकानी गरेपनि सहमति निस्किएन ।लगातारको भेटपछि पनि सहमति ननिस्कँदा नेताहरुले पुरानै सहमतिलाई केही परिमार्जन गरी जाने विषयमा छलफल बढाएका छन् । सर्प पनि मर्ने लठ्ठी पनि नभाँच्चिने विकल्प तयार गर्ने सुत्रबारे छलफल शुरु भएको हो । जसमा एक व्यक्ति एक पदको व्यवहारिक कार्यान्वयन हुनसक्छ । ओली प्रधानमन्त्री कायमै रहने तर पार्टी सञ्चालन प्रचण्डले गर्ने विषयमा छलफल बढेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

कार्यकारी अधिकार मंसिर ४ मै प्रचण्डलाई दिइएको हो । तर, अब सहमति गर्दा पार्टी कमाण्डको पुरै अधिकार उनमा रहने गरी सहमतिको प्रयास गर्न खोजिएको हो ।

उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल नियमित जसो बैठक बसेर सहमतिको विकल्प खोज्न सक्रिय भएको बुझिएको छ । दुवै नेता कुनै हालतमा पार्टी फुट्न दिन नहुने पक्षमा छन् । ओलीलाई तत्काल प्रधानमन्त्रीबाट हटाउन कानुनी जटिलताहरु पनि छन् । उनले राजीनामा दिनेबाहेक हटाउन मुश्किल छ । अविश्वासको प्रस्तावले मात्र ओली हट्न सक्छन् । त्यस्तो अवस्थामा नेकपाभित्र दुर्घटना हुनसक्छ । त्यसैले विरोधी पक्ष दुर्घटना हुन नदिन लागिपरेको छ ।

ओलीले भने पार्टी फुटाउन अध्यादेश ल्याएर भएपनि अगाडि बढ्ने संकेत गरिसकेका छन् । अध्यादेश बाहेकको अवस्थामा नेकपा फुट्ने मार्ग खोलिदैन । यसमा संवैधानिक र कानुनी जटिलता छ । प्रचण्ड या अन्य कुनै नेताले चाहेर पनि नेकपा फुटाउन सक्दैनन् किनभने राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी एकीकरणको पाँच वर्ष पुरा नभई फुटाउन नपाइने उल्लेख छ । नेकपा एकीकरण भएको दुई वर्ष मात्र पुरा भएको छ ।

कुनै हालतमा सत्ता नछाड्ने ओलीको अडानले विरोधी समुह गलेको हुन् कि भन्ने देखिएको छ । त्यसमाथि नेकपाभित्र विशेष प्रभाव बढाएको चीनले सक्रियता देखाएको छ । चिनियाँ राजदुन होउ यान्छीले शिर्ष नेताहरुलाई भेटिसकेकी छिन् । उनले पार्टी फुट्न नदिन जोड दिएको बुझिएको छ ।

नेकपाभित्र अब सहमतिको बढी सम्भावना बढ्दै गएको छ । सहमति नबन्दा यसरी नै यता न उताको अवस्था कायम रहन सक्छ । एक व्यक्ति एक पदको जस्तै अवस्था सृजना गर्ने गरी सहमति निकाल्न खोज्दा पनि कुरा नमिले दुर्घटना नटर्ने उत्तिकै सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्