Logo

उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना



काठमाडौँ, २४ असार : काठमाडौँ उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६-७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ । उपत्यकामा चालकको लापरवाहीबाट आठ हजार ४७२ दुर्घटना भएको छ । यस्तै, मादक पदार्थ सेवनबाट ४३५, तीव्रगतिबाट ४२२, ओभरटेकबाट ५८, यान्त्रिक गतिविधि ४९, सडकको दुरावस्थाबाट १६, पैदलयात्रुको लापरवाहीबाट चार र मौसम-चौपायाबाट पाँच दुर्घटना भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल चालकले सवारी नियम नमान्ने प्रवृत्तिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताए । “तीव्र गति, मादक पदार्थ सेवन, गाडी तन्दुरुस्त अवस्थामा नराख्ने प्रवृत्तिका कारण पनि बढी दुर्घटना हुने गरेको छ,”उनले भने ।

उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी रहेका छन् । महाशाखाका अनुसार आव २०७६-७७ मा उपत्यकामा सवारी दुर्घटनाबाट १४५ जनाको मृत्यु भएको छ । जसमा १७ देखि ३५ वर्षका ९४ जना रहेका छन् ।

यस्तै १६ वर्ष मुनिका ७ र ३६ वर्षभन्दा माथिका ४४ जना रहेका छन् । उपत्यकामा गत आव २०७५÷७६ मा सवारी दुर्घटनाबाट २५४ जनाको मृत्यु भएको थियो ।

उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा दुई पाङ्ग्रे चालक बढी रहेका छन् । आव २०७६-७७ मा सवारी दुर्घटनाबाट ७६ जना दुई पाङ्ग्रे (मोटरसाइकल-स्कुटर) चालकको मृत्यु भएको हो । यस्तै, मृत्यु हुनेमा ४७ पैदलयात्रु, बस दुर्घटनाबाट ६, साइकल दुर्घटनाबाट पाँच, ट्रक दुर्घटनाबाट पाँच, ट्रिपर दुर्घटनामा तीन र कार दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ ।

उपत्यकामा बिहान र बेलुकाको समय भन्दा दिउँसोको समयमा बढी दुर्घटना हुने गरेको छ । उपत्यकामा आव २०७६÷७७ मा दुर्घटना भएका नौ हजार ४६१ सवारी साधनमध्ये दिउँसोको समयमा बढी दुर्घटना भएको देखिन्छ ।

बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म तीन हजार ७८६ दुर्घटना भएका छन् । यस्तै, बिहान ६ बजेदेखि १२ बजेसम्म दुई हजार ९०६, बेलुका ६ बजेदेखि राति १२ बजेसम्म दुई हजार २८५ र राति १२ बजेदेखि बिहान ६ बजेसम्म ४८४ दुर्घटना भएका छन् । महाशाखा प्रमुख ढकाल दिउँसोको समयमा सडकमा अत्याधिक सवारीसाधन निस्कने र तीव्र गतिका साथ चलाउने कारण बढी दुर्घटना हुने गरेको बताए ।

उपत्यकामा एक ट्राफिक प्रहरीले एक हजार २८४ सवारी साधन व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । उपत्यकामा ट्राफिक जनशक्तिको दरबन्दी एक हजार ८७ रहेपनि हाल एक हजार ४०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत छन् । काठमाडौँ उपत्यकामा ४० ट्राफिक प्रहरी एकाई रहेको छ । यस्तै, उपत्यकामा दुई हजार ८३ किलोमिटर सडक छ । यातायात व्यवस्था विभागका अनुसार आव २०७६÷७७ को कात्तिक मसान्तसम्म वाग्मती अञ्चलमा १३ लाख ९६ हजार ५५० सवारीसाधन दर्ता भएका छन् । जसमध्ये नौ लाखको हाराहारीमा उपत्यकामा सञ्चालित छन् । यस्तै, देशभर ३५ लाख ३९ हजार ५१९ सवारीसाधन रहेका छन् ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्