Logo

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर



काठमाडौं, २४ असार : एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् ।

एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको छ ।

‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र रु १०० (कर सहित मात्र रु १२७.६९) मा एक साताभरि ४८०पी मा युट्युब भिडियो सामाग्रीहरुकोे मजा लिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् ।

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन् ।

ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५३) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन् । त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७ दिन सम्म ३५०० एमबि थप डेटाको मजा लिन सक्नेछन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डेटा पनि लिन सक्नेछन् ।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप एनसेलले आफ्ना फोरजी ग्राहकलाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको हो । सन् २०१७ मा फोरजी सेवा संचालनमा ल्याए पछि कम्पनीले देशको विभिन्न भागमा तदारुकताका साथ यो सेवाको विस्तार गरेको छ ।

भिडियो कन्टेन्टको बढ्दो मागले गर्दा देशमा डेटा सेवाको बढ्दो उपभोग भइरहेको अवस्थामा ननस्टप युट्युब अफरको साथमा सुलभ दरमा आफ्ना ग्राहकलाई युट्युबमा पहुँच दिन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । फोरजी अल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ्ग तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागि निकै सुलभ दरमा थप डेटा सहितको यस अफरले ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।

यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसंग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोवाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनु पर्दछ । आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न सक्नेछन् । साथै सिम अपगे्रड गर्नुहुने ग्राहकले थप १ जिबी डे प्याक डेटा निःशुल्क प्राप्त गर्नेछन् ।
आफ्नो प्रतिवद्धता अनुरुप र नयाँ ‘प्लस’ थिमअन्तर्गत ग्राहकका लागि थप नवीन सेवा तथा सुविधाहरु ल्याउने एनसेलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्