Logo

ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !



काठमाडौं, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्वाद जारी छ । अध्यक्षद्धयबीच सहमति खोज्ने उद्देश्यले स्थायी कमिटीको बैठक तीन पटकसम्म स्थगित् गरिएको छ । अर्को बैठक असार २६ गते बस्ने तय भएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकको पहिलो दिनमै नेताहरुले केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

तर, ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् । नेकपाभित्रको विवाद मिल्नै नसक्नेगरि गिजोलिएको टिप्पणी भैरहँदा अध्यक्षद्धय ओली र दाहालबीच भने रहस्यमयी साँठगाँठ सुरु भएको छ । उनीहरुबीचको एक्लाएक्लै भेटवार्तामा ओलीले सरकारको नेतृत्व गर्ने र दाहालले पार्टीको नेतृत्व गर्नेगरि ‘एक व्यक्ति, एक पद’मै जाने सहमति भएको स्रोतको दाबी छ । नेकपामा पछिल्लो समय ‘एक व्यक्ति, एक पद’को माग जोडदार रुपमा उठिरहेको छ । यो माग विशेषगरि बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले कडा रुपमा उठाएको छ ।

तर, ओली पक्षले एकता महाधिवेशन सम्पन्न नभएसम्म कुनैपनि हालतमा ‘एक व्यक्ति, एक पद’मा जान नसकिने अडान लिँदै आएको थियो । दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमै ओलीको राजीनामा मागिसकेका छन् । र, उनीहरु स्थायी कमिटीको बैठकमै ओलीलाई दुवै पदबाट हटाउनेगरि निर्णय गर्ने तयारीमा छन् । दाहाल–नेपाल समूहको रणनीति बुझेका ओलीले पछिल्ला दिन स्थायी कमिटीको बैठक नै बहिष्कार गरिदिए । उनले पार्टीमा र सभामुखसँगपनि सामान्य परामर्श नगरी संसदको बजेट अधिवेशन अन्त्य गरिदिएका छन् ।

ओलीले नेपाल समूहसँगभन्दापनि दाहालसँगमात्रै एक्लाएक्लै भेटवार्तालाई तिव्रता दिएका छन् । दाहालले सरकारको नेतृत्व आलोपालो गर्नेगरि यसअघि भएको सहमति कार्यान्वयनमा जोड दिँदै आएका छन् । तर, ओलीले भने जेठमा भएको सहमतिभन्दापनि त्यसपछि मंसिरमा गरिएको सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्ने अडान लिएका छन् । दाहाल–नेपाल समूह ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपयुक्त मौका नै यही हो भनेर लागेको छ । नेता नेपालले प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुपर्ने बटमलाईन लिएको छ ।

यसअघि दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडान लिएको नेपाल समूह अन्तिममा दुई पदमध्ये एकबाट भएपनि हटाउनुपर्ने र विशेषगरि प्रधानमन्त्रीबाटै ओलीलाई हटाउनुपर्ने लाईनमा छ । यसको लागि नेता नेपालले प्रचण्डलाई अबको प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् । दाहालले पनि पछिल्ला दिनमा छलफल यही विषयलाई केन्द्रमा राखेर अघि बढाईरहेको स्रोतको दाबी छ ।

नेकपानिकट स्रोतकाअनुसार यदि ओलीले प्रधानमन्त्री कुनैपनि हालतमा नछाड्ने अडान लिईरहने दाहालले अध्यक्षमा आफूमात्रै रहने शर्तमा सहमति गर्न सक्छन् । आजपनि उनीहरुबीच छलफल हुँदैछ । आज र भोलिभित्र सहमति नभए दाहाल–समूह अब बैठकबाटै वारपार गर्ने अर्थात निर्णय गरेर अघि बढ्ने तयारीमा छन् । File Photo



प्रतिक्रिया दिनुहोस्