Logo

पेन्सन बुझन सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका खुला



बैतडी, २४ असार : भारतीय पेन्सनधारी नेपालीका लागि सुदूरपश्चिम पहाडी जिल्लाका तीन नाका आजदेखि खोलिएका छन् । बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला (पुलघाट) र जौलजीवी नाका तीन दिनका लागि खोलिएका हुन् ।

लकडाउनका कारण लामो समयदेखि भारतीय पेन्सनधारीले पेन्सन बुझ्न नपाएको गुनासो आएपछि नाका खोलिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । झुलाघाट नाका आजदेखि शुक्रबार बिहान १० बजेदेखि ५ बजेसम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाका बन्द भएकाले दुबै देशका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको हो ।

यस्तै दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका पनि तीन दिनका लागि खुल्ला गरिएको छ । दार्चुलाका यी नाका भने २ सिफ्टमा खुल्ने प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म नाका खुल्ला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । सीमामा भारत प्रवेश गर्दा परिचयपत्र अनिवार्य, स्वास्थ्यसम्बन्धी नियमपालना अनिवार्य गर्नुपर्ने जनाइएको छ ।बैतडीका दुई हजार बढी र दार्चुलामा ५०० जना भारतीय पेन्सनधारी नागरिक रहेका छन् । रासस/File photo



प्रतिक्रिया दिनुहोस्