Logo

ओली-प्रचण्ड द्वन्द्वमा तेस्रो व्यक्ति प्रधानमन्त्रीको कुर्सी ताक्दै



काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक द्वन्द्व वैचारिक भन्दा व्यक्तिगत बन्दै गएको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । जसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा बामदेव गौतम मुख्य छन् ।

एकसाथ हेभिवेटहरु मिलेर प्रहार गर्न लागेपछि ओलीलाई सामना गर्न कठिन भएको छ । तैपनि, उनी थेगिरहेका छन् । राजीनामा कुनै हालतमा नदिने अडान कसिरहेका छन् । ओलीले सडक देखि बाह्य शक्तिसम्म प्रयोग गरेर सत्तामा टिक्न खोजिरहेको आरोप खेपिरहेका छन् ।
ओली कुनै हालतमा नहट्ने र हटाउन खोजे जोखिम मोलेरै भएपनि कडा कदम चाल्ने तयारीमा छन् । छाड्नै परे आफूलाई हटाउन लागिपरेकालाई कुनै हालतमा सत्तामा जान नदिने पक्षमा रहेको बुझिएको छ ।

सत्ताको लडाईंमा ओलीको विकल्पमा को ? यो प्रश्न गम्भीर बनेको छ । एकाथरीले प्रचण्ड या माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने सम्भावना देखिरहेका छन् । तर, त्यो सजिलो छैन । दुवैले एक अर्कालाई स्वीकार्ने सम्भावना कम छ । बामदेव गौतम यो संसदबाट प्रधानमन्त्री बन्न सक्दैनन् । प्रचण्ड पक्षका नारायणकाज पनि प्रधानमन्त्री बन्न मिल्दैन ।

नेताहरुको जुधाईमा प्रधानमन्त्री बन्न पाइन्छ कि भन्नेमा सुवासचन्द्र नेम्वाङ पनि छन् । सभामुख भइसकेका र ओलीका विश्वासपात्र हुन् उनी । ओलीले आफूले छाड्नपर्दा नेम्वाङलाई सार्न सक्छन् । सधै साथ दिदैआएका उप्रधानमन्त्री ईश्वर पोखरेललाई पनि बढाउन सक्छन् ।
प्रचण्ड पक्षधरमा सम्भावित कोही त्यस्तो नाम छैन । नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल राष्ट्रियसभा सदस्य भएकाले प्रधानमन्त्री बन्न संविधानले रोक्छ ।

नेकपामा प्रधानमन्त्री भइसकेका मात्र ओलीसहित पाँच जना छन् । ओली र प्रचण्ड दुई दुई पटक प्रधानमन्त्री बनिसकेका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल एक एक पटक बनेका छन् । प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने आशा गरिरहेका छन् । झलनाथको राष्ट्रपति बन्ने दाउ छ । तर, उनी पनि प्रधानमन्त्रीका लागि च्याँखे थापिरहेका छन् । यसरी ओली र प्रचण्डको द्वन्द्वमा तेस्रो व्यक्तिले बाजी मार्ने सम्भावना उत्तिकै छ ।



प्रतिक्रिया दिनुहोस्