Logo

राजनीतिक भागबण्डाले विवाद



काठमाडौं, असार २५ । कोरोना संक्रमणका कारण देश लकडाउनमा रहँदा मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु मापदण्ड उल्लङ्घन गर्दै डिन, कलेज प्रमुख तथा विभागीय प्रमुखहरु नियुक्ति हुन थालेको छ। यसबाट असन्तुष्ट त्रिविका प्राध्यापकहरुले यस्तो कार्य नरोकिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

यसअघि अभियन्ता डा।गोविन्द केसी र सरकारसँगको सम्झौतामा विश्वविद्यालयहरुको जुनसुकै निकायमा वरिष्ठता र क्षमताको आधारमा नियुक्त गरिने उल्लेख गरेको भए पनि राजनीति पहुँचकै आधारमा विश्वविद्यालयका विभिन्न निकायमा नियुक्ति दिइएपछि त्रिविकै प्राध्यापकहरुले त्यसको विरोध गरेका हुन्।

राजनीतिक भागबण्डाका आधारमा १५ निकायहरुमा प्रमुखहरुको नियुक्ति भइरहेको छ। असार २० मा २२ वटा त्रिविका आंगिक कलेजका प्रमुखहरुको पदावधि सकिँदैछ। गएका दुई सातामा त्रिविका उपकुलपतिले राजनीति दबाबमै त्रिवि कार्यकारी परिषद्को निर्णय गराई पूर्व एमाले र पूर्व माओवादीलाई नियुक्ति गरेका हुन्।

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा वरिष्ठतालाई मिचेर ३३ औं स्थानमा रहेकी प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा दिव्यासिंह शाहलाई प्रधानमन्त्रीकै दबाबमा नियुक्ति गरेलगत्तै त्रिविका विद्यार्थी तथा प्राध्यापकहरुको आन्दोलन चर्केको हो।

प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिविको यस गलत नियुक्तिलाई नसच्याए सडक आन्दोलन गर्ने चेतावनी दिएको छ। यति मात्र होइन, सत्तापक्षकै विद्यार्थी संगठनले पनि डिन नियुक्तिको विरोध गर्दै अनेरास्ववियुले आईओएमको डिन कार्यालयमा तालाबन्दी गरेको थियो। शुक्रबार साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot