Logo

पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण



काठमाडौं, २५ असार । गन्तव्य नेपालको संयोजनमा रिपोर्टर्स क्लव मार्फत बोधिसत्व विहारले पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।  आज रिपोर्टर्स क्लबमा आमन्त्रित पत्रकारहरुलाई क्लबका सभापति ऋषि धमला र गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलसँगै बोधिसत्व विहारका मास्टर हेगुवाङ शीका तर्फबाट ’नेपाल लकडाउन फुड च्यारिटी’का संयोजक शान्त शर्माले प्रेस ज्याकेट, एन–९५ मास्क, मेडिकल मास्क, मास्क सिल्ड, ग्लब्स र स्यानिटाईजर वितरण गरेका हुन् ।

वितरण कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले महामारीका बेला बोधिसत्व विहारले देशैभर गरेको मानवसेवाका कार्यको प्रशंसा गर्दै बोधिसत्वको परोपकारी अभियानमा आफू पनि जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

धमलाले कोभिड–१९ को कारणले नेपालको मिडिया क्षेत्रपनि प्रभावित बनेको भन्दै यसबाट सबैभन्दा बढि मारमा श्रमजिवी पत्रकारहरु परेको उल्लेख गरे । र, उनीहरुको हितको लागि क्लब सधैं साथमै उभिने र सकेको सहयोग गर्ने पनि धमलाले विश्वास दिलाए ।
गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले विश्वव्यापी संकटको यो अवस्थामा सरकारले गर्न नसकेको काम बोधिसत्व विहारले गरिरहेको भन्दै मास्टर शी र संयोजक शर्माप्रति आभार प्रकट गरे ।

ताइवानी नागरिक शीको नेतृत्वमा विहारले नेपालसँगै विश्वका विभिन्न देशमा चलाइरहेको मानवसेवी अभियानको मुक्तकण्ठले प्रशंसा गर्दै अधिकारीले यस्तो अभियानमा जोडिनु आफ्ना लागि गर्वको विषय भएको बताए ।

पहिलेदेखि नै विहारसँगको सहकार्यमा काम गर्दै आएको स्मरण गर्दै उनले सहकार्य निरन्तर चल्ने विश्वास व्यक्त गरे । तीन महिनामा ५ लाखभन्दा बढीलाई निःशुल्क खाना खुवाइसकेको विहारको लकडाउन विशेष अभियान ‘नेपाल लकडाउन फुड च्यारिटी’का संयोजक शान्त शर्माले महामारीका बीच जोखिम मोलेर सूचना संकलनमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षामा थोरै भए पनि सघाउन पाएकोमा खुसी व्यक्त गरे ।

यसअघि दुई चरणमा ३०० भन्दा बढी पत्रकारलाई पिपिईसहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको स्मरण गर्दै उनले अझै अन्य चरणहरु जारी रहने बताए ।

बोधिसत्व विहार प्राणीसेवामा समर्पित बौद्धमार्गीहरुको अन्तर्राष्ट्रिय संस्था हो । कोरोना महामारीबीच विहारले नेपालमा फुड च्यारिटीसँगै भारी मात्रामा स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री वितरण गरिरहेको छ । विभिन्न जिल्लाका अस्पताल, कारागार, सुरक्षा चौकी र क्वारेन्टिनमा विहारले पिपिई, थर्मल गन, स्प्रे मेसिन, मास्क, ग्लब्स, साबुन, स्यानिटाइजर र फिनाइल पुर्याइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्