Logo

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहितको टिमले राजीनामा दिनुपर्छ- भरत खड्का, नेता, नेपाली कांग्रेस



काठमाडौं, २५ असार । नेपाली काँग्रेसका नेता भरत खड्का सुदरपश्चिम प्रदेश सरकारको राजीनामा मागेका छन् । सरकार पूर्वाग्रही र काम गर्न नसक्ने भएकाले टिमले नै राजीनामा दिनुपर्ने माग गरेका हुन् । यसै सेरोफेरोमा खड्कासँग ऋषि धमलाले गरेको कुराकानीः
सुदुरपश्चिममा कोरोना रोक्न सक्नुभएन, जनताहरु पीडामा तपाईंहरु मस्तीमा हुनुहुन्छ नि ?
निश्चित रुपमा सुदुरपश्चिम निकै जोखिममा छ भन्ने कुरा सबैलाई थाहा छ । पछिल्लो समय सुदुरपश्चिम कोरोना प्रकोपको रुपमा विस्तार भएको छ । वैशाख महिनाभरि सयको हाराहारीमा संक्रमित थिए भने अहिले चार हजारको हाराहारी संक्रिमत देखिएका छन् । यही हिसाबले बढ्दै जाने हो भने चाइनाको बुहान हुनसक्ने देखिन्छ ।
त्यसोभए सुदुरपश्चिम चाइनाको बुहान हुने भयो ?
यही तरिकाले बढ्दै जाने हो भने एक दिन चाइनाको बुहान हुने सम्भावना बढी छ ।
के कारणले, रोकथामको लागि सरकारले काम गरेको छैन ?
हामीले सुदुरपश्चिम प्रदेश उच्च जोखिममा छ भन्दाभन्दै पनि केन्द्रीय सरकारले पनि ध्यान दिएन । यहाँ परीक्षणको लागि अहिलेसम्म एउटा मात्रै मेसिन छ । दिन अढाइ सय मात्रै परीक्षण हुन्छ । क्वारेन्टाइनमा ३२, ३५ दिन बसेको मान्छेको १५ दिनमा रिपोर्ट आउन सकेको छैन । यहाँ परीक्षण गर्न नसकेर टेकू पठाउनुपर्ने अवस्था छ । ३०, ३५ दिन क्वारेन्टाइनमा बसेका मान्छेलाई पनि बिना परीक्षण पठाउनुपर्ने भएको छ । अहिले समुदायमा पनि फैलिने काम स्वयम सरकारको नीतिले गर्दा भएको छ । बारम्बार नेपाली कांग्रेसको संसदीय दलले, हामीले यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ । सरकारको साथमा हामी छौं । यसरी जाने हो यसलाई हामीले धान्न सक्दैनौं । भोलि ठूलो दुर्घटनामा पर्न सक्छौं भनेर हामीले बारम्बार प्रदेश सरकारसँग आग्रह गर्यौं । त्यो आग्रहलाई सुनेन । केही दिन सदन पनि अबरुद्ध भयो ।
अहिले त सत्तपक्ष र प्रतिपक्ष मिलेर काम गर्ने होइन, झगडा गरेर बस्ने हो र ?
ठीक भन्नुभयो । अहिलेको असाधारण अवस्थामा सदन बन्द गर्नुहुँदैन भन्ने मान्यता थियौं । हामीले सदन रहरले बन्द गरिएको होइन । जब सरकारलाई पटक–पटक आग्रह गर्दा पनि विकल्प पाइएन अनि मात्रै त्यो बाटो रोजेका हौं । हिजो मात्रै चरणमा बैठक बसाएर बहुमतको आधानरमा अधिनायकवादी शैलीले बजेट पास गरेको छ । त्यसपछि अनिश्चितकालीन सूचना निकालेर अर्को सूचना नआएसम्म बैठक नबस्ने भनेर सदन स्थगित गरिएको छ । त्यस कारण यो सरकार सदनबाट पनि भाग्यो । उद्देश्य र गन्तव्य हाम्रो एउटै छ । त्यसमा सरकार सहिसुण पनि हुन सकेन । हिजो मात्रै बजेट पास नगर्दा कुनै संवैधानिक संकट आउँछ कि भनेर खाल बजेट पास गर्नको लागि एकांकी ढंगले अधिनायकवादी शैलीका बजेट मात्रै पास गरिएको छ । जबर्जस्ती तीनवटा बैठक बसाएर खाली वैधानिकता दिने काम मात्रै भएको छ ।
तपाईंहरु पनि बजेट पारित गर्न समेत नदिने अवस्थामा पुग्नुभयो नि ?
हामीहरु बजेट पारित गर्ने अवस्थामा थियौं । हाम्रो सामान्य कुरा थियो । त्यस्तो जटिलता थिएन ।
तपार्इंंहरुले अवरोध गरेको गरेकै गर्नुभयो नि ?
होइन, हामीले त्यस्तो गरेकै छैन ।
सुदुरपश्चिमा मुृख्यमन्त्रीले त कांग्रेसले कामै गर्न दिएन भन्नुभयो नि ?
हामीले कहाँ काम गर्न रोकेका थियौं र । तर, उहाँहरुले हामीलाई बोलाउनै भएन । केन्द्रमा प्रधानमन्त्रीले सर्वदली मिटिङ बोलाउनुभयो । सर्वपक्ष बैठक बस्यो । नेपाली कांग्रेस कोरोना रोकथाम तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ दियो । तर, यहाँका मुख्य मन्त्रीज्यूले अहिलेको उच्च जोखिमको सामना कसरी गर्न सकिन्छ भनेर हामीलाई बोलाउने काम गर्नुभएन । कांग्रेसको संसदीय दल गएर अहिलेको जोखिममा के सहयोग गर्नुपर्छ । यो महामारीमा पक्ष र विपक्ष हुन सक्दैन । किन भने निर्णायक कुरा सरकारको हुन्छ । हाम्रो कुरा निर्णयक हुँदैन । हामीले निर्णय पनि सरकारको मानेका छौं । हामीले सरकारका कुरा मानेका छौं । तर, यहाँको सरकारले आफूभन्दा बाहेक कुनै पक्षको कुरा सुनेन । त्यसकारण अहिले गाउँघर अत्यन्त अस्तव्यस्त अवस्था छ ।
त्यहाँ अस्तव्यस्त छ, कांग्रेस पनि निदाएर बसेकाले खोज्नुपर्ने अवस्था छ होइन ?
प्रतिपक्ष दलको नाताले सरकारलाई उजागर ग¥यो । खबरदारी गरियो भने किन गरियो भन्ने प्रश्न आउँछ । अनि अहिले पनि कांग्रेस निदाएको भन्नलाई हाम्रो पार्टी उदण्ड गर्ने होइन । रेलिङ तोड्ने, सकड अवरोध गर्ने, चर्का नारा र हुलहुज्जत गरेर अमानवीय व्यवहार कांग्रेसले गर्नुहुँदैन । हामीले संसदीय मूल्य र मान्यताको आधारमा डेमोक्र्याटिक भ्यालुजलाई आत्मसात गरेर सरकारमा बसेकालाई सही सल्लाह, सुझाव दिने र लविङ गर्ने हो । अनि सरकार नै त्यो बाटोमा जाँदैन भने कांग्रेसले कुन कुरामा सरकारलाई काम गर्न नदिएर रोके छ ?
कञ्चनपुरमा चार सय भन्दा बढी घरहरु डुवानमा परेका छन् त्यसको लागि के गर्दै हुनुहुन्छ ?
हो, हिजो कञ्चनपुरमा अविरल वर्षाका कारण गाउँ, गाउँ डेबेको छ । यस्तो बेलामा ती पीडितहरुलाई राहतको व्यवस्था हुनुपर्छ । तर, हाम्रो सरकार यतिबेला किंकर्तव्य विमुढमा छ । समयमा रेस्क्यू गर्दैन । आरामसँग कानमा तेल हालेर बसेको छ सरकार । जनतामा परेको यत्रा विपत्तिमा सरकार गम्भीर हुन सकेको छैन । त्यसैले कांग्रेस हराएको, सुतेर बसेको छैन । कांग्रेस जनताका जन्दबन्दा समस्याप्रति जिम्मेवारीपूर्वक प्रस्तुत भएको छ । हाम्रो जवाफदेहिता र जिम्मेवारीलाई कसैले हल्का ढंगले लिन्छ भने त्यो उसको कुरा हो । कांग्रेसले सरकारलाई कुनै पनि काम गर्न वाधाव्यवधान पु¥याएको छैन । कांग्रेस जस्तो सालिन र मिलनसार पार्टीसँग पनि यो सरकार मिलेर सहकार्य गर्न सक्दैन भने कुन पार्टीसँग सक्छ ? त्यसैले अहिले मानवीय संकटको बेलामा पक्ष र प्रतिपक्षको कुरै हुँदैन । सदन अबरोध हुनु प्राविधिक कुराहरु हुन् । अहिले हामी एकढिक्का भएर जाऔं । किन भने सरकारको निर्णय वैधानिक हुन्छ । त्यसकारण त्यो लागु हुन्छ । त्यो कुरालाई हामीले मानिराखेका छौं । त्यसलाई अझ बल पु¥याउनका लागि राष्ट्र र जनताको काम गर्न कांग्रेस जति बेलामा पनि तयार छ ।
सुदुरपश्चिमका मुख्यमन्त्रीले काम गर्न सक्नुभएको छ कि छैन ?
यही मुख्यमन्त्रीको टिम रहिरहनु भनेको सुदुरपचिमको लागि विषाक्त सरकारको रुपमा आइसकेको छ । यो सरकारसँग त सुदुरपश्चिमका नागरिकहरुले आशा मारिसकेका छन् । संघीय सरकारप्रति निर्वाचन भइसकेर सरकार बनेपछि केही उत्सुक्ता थियो । हिजो पनि सुदुरपश्चिम केन्द्रीय राज्यसत्ताबाट हेपिएको, पेलिएको थियो । आजको संघीय सरकार पनि त्यस्तै अवस्थामा अगाडि बढिरहेको छ ।
शेरबहादुर देउवाले चार पटक प्रधानमन्त्री बन्दा पनि केही गर्न सक्नुभएन, अहिलेका मुख्य मन्त्रीले पनि केही गर्न सक्नुभएन हो ?
शेरबहादुर देउवाले केही नगरेको होइन । कांग्रेसको पालामा सुदुपश्चिममा केही विकास भएको छ । सुदुरपश्चिम काठमाडौंसँग जोडिएको पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा हो । त्यसैले शेरबहादुरजीले केही गर्नुभएन भन्ने होइन धेरै भएको छ । तर, केही कुरा गर्न बाँकी छन् । समयको गतिअनुसार अहिलेको प्रदेश सरकारले काम गर्न सकेन । जसले गर्दा संघीयता नै खराबहो कि, चाहिँदैन कि भन्ने प्रश्नहरु जनतामा उठ्न थालेको छ ।
त्यसोभए सुदूरपश्चिमा संघीय अभिसाप भयो हो ?
संघीयता नचाहिने होइन । म संघीयताको पक्षमा छु । यो सिस्टमको पक्षमा छु । संघीयता साधन हो, साध्य होइन । यसलाई सञ्चालन गर्ने नेतृत्वको ढंग पुगेन । कुनै पनि वस्तुलाई सही ठाउँमा राख्ने नेतृत्वको ढंग पुगेन भने त्यो नेतृत्व खराब हुन्छ वस्तु खराब हुन सक्दैन ।
त्यसोभए मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने हो ?
अहिले सुदुरपश्चिमको सरकार तीन तिहाईको भए पनि उसले गरेका अढाइ वर्षका क्रियाकलापलाई हेर्ने हो भने सरकार चलाउने नैतिकता गुमाइसकेको छ । यो मन्त्रिमण्डलको टिमले राजीनामा दिनुको विकल्प छैन । यो टीमको सरकार हुन्जेल सुदुरपश्चिका नागरिकका लागि कुनै आशा लाग्दो कुरा हुँदैन । त्यसैले सुदुरपश्चिमको प्रदेश सरकारको टीमले राजीनामा दिनुको विकल्प छैन । किन भयो यो सरकार नितान्त अधिनायकवादी शैलीले अगाडि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्