Logo

पाँच लाख घरको पुनर्निर्माण सम्पन्न गरियो : सिईओ ज्ञवाली



काठमाडौं, २५ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएकामध्ये ५ लाखभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएका छन् । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा ज्ञवालीले ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माणको क्रममा रहेको जानकारी दिएका हुन् ।

घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ घरधनीले अनुदान सम्झौता गरेको जानकारी दिँदै भने, त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छन् । भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएको, नुवाकोटमा ६४ हजार १ सय २४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएको ज्ञवालीले स्पष्ट पारे ।

????????????????????????????????????

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले ६ लाखभन्दा बढी गुनासाहरु सम्बोधन गरेको जानकारी दिँदै प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने बताए। उनले भूमिहीन र सुकुम्बासी लाभग्राहीका बारेमा सबै टुङ्गो लागिसकेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएको जानकारी दिए । ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरु बन्दै गरेको बताए ।

समितिको बैठकमा प्राधिकरणले विद्यालय पुनर्निर्माण, पुरातात्विक महत्वका सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन पुनर्निर्माणबारे जानकारी गराईएको थियो ।

समिति सभापति कल्याणीकुमारी खड्काले निजी आवास, विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै सम्पदा पुनर्निर्माणलाई अझ छिटो अघि बढाउन निर्देशन दिईन् । उनले प्राधिकरणको सयमावधिबारे छिट्टै टुङ्गो लगाउनु पर्नेमा जोड दिईन् । बैठकमा सांसदहरुले गुम्बा पुनर्निर्माणमा विशेष ध्यान दिन प्राधिकरणलाई आग्रह गरेका थिए । प्राधिकरणले ४ सय २ वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने १ सय १७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाएको छ ।

बैठकमा सांसदहरु जिपछिरिङ लामा, यज्ञराज सुनुवार, रामबहादुर विष्ट, गणेश पहाडी, रंगमती शाही, गणेश पहाडीले निजी आवास, सम्पदा, धरहरा, रानीपोखरी, सिंहदरबार पुनर्निर्माण लगायतबारे जिज्ञासा राखेका थिए । प्राधिकरणको म्याद आगामी पुसमा सकिं‌दैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्