‘फेक’ पत्रकारिताको नाममा घृणाको व्यापार


काठमाडौं, असार २६ । भारतीय सञ्चार माध्यमले पत्रकारिताबाहेक सबै गर्छन् भन्ने विश्वव्यापी भनाइ पुनः प्रमाणित भएको छ । खबरमा हुनुपर्ने वस्तुनिष्ठता, निष्पक्षता र विश्वसनीयताभन्दा बाहिर गएर हालै भारतको चर्चित टेलिभिजन कम्पनी जी न्युजको ‘जी विहार–झारखण्ड च्यानल’ मा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे लगातार गलत रिर्पोटिङ प्रसारण हुनुले मिडियाको निर्लज्जता देखाएको छ । आधारहीन र तथ्यहीन रिपोर्टिङको आडमा घृणाको व्यापार गर्ने शैलीले त्यहाँका नागरिकका लागि भ्रम फैलाउने काम मात्रै गरेको छ ।

भारतको जी च्यानलले ‘ओलीकी इस्किया’, ‘अतरंगी मुलाकात और नेपाल हार गए ओली’ जस्ता शीर्षक प्रयोग गरेर समाचार प्रसारण गरेको छ । जुन समाचार प्रसारणले नेपाल अब भारत छाडेर चीनतिर ढल्कियो भन्ने आशयको छ । माया प्रेमको जाल बुनेर बनाइएको सो कथाले पत्रकारिताभन्दा पनि प्रोपोगाण्डा मच्चाउने काम मात्रै गरेको छ ।

भित्री कोठामा बसेर एकोहोरो मनगढन्ते कुरा बनाएर समाचारका रूपमा प्रस्तुत गर्ने र टिआरपी बढाउने काम मात्रै भारतीय मिडियाले गरिरहेका छन् । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमिलाई समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेसँगै तिलमिलाएको भारतीय मिडियाले पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनर्गल प्रचार र फेक समाचार बनाउने कामले निरन्तरता पाइरहेको छ आजको राजधानी दैनिकमा खवर छ ।