Logo

भेट भयो भन्दैमा पार्टी नै राजदूतले सञ्चालन गर्न खोज्यो भन्नु अल्प बुझाईः प्रधानमन्त्रीका सल्लाहकार



काठमाडौं, असार २६ । नेकपा भित्र विवाद भइरहेका बेला चिनियाँ राजदूतले नेकपाका नेताहरुलाई भेटेकोमा विरोध गर्नु गलत भएको प्रधानमन्त्रीका सल्लाहकारहरुले बताएका छन् ।

चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शिर्ष नेताहरुलाई पटक पटक घरमै गएर भेटघाट गर्नु गलत भएको भन्दै कुटनीतिज्ञहरुले नै विरोध गरिरहेका बेला सल्लाहकारहरुले राजदूतको बचाउन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेताहरुलाई भेटेकै आधारमा विरोध गर्नु ठिक नभएको तर्क गरेका छन्। भेट भयो भन्दैमा पार्टी नै राजदूतले सञ्चालन गर्न खोज्यो भन्नु अल्प बुझाई र पुर्वाग्रही सोँच भएको उनको भनाई छ ।

पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले भने, ‘जो कोहीका सुझाव लिनु कुनै गलत होइन, सुवेच्छाहरु स्वागत योग्य हो, गलत चलखेलको पो विरोध गर्नुपर्दछ ।’

चिनियाँ राजदूतले नेपालको हितका लागि सहयोग गरेकाले धन्यवाद दिदै उनीबाट अरु राजदूतहरुले सिक्नु पर्ने सल्लाहकार थापाको भनाई छ ।

उनले भने,‘चिनियाँ राजदूतले नेताहरुलाई भेट्दा अरुलाई ज्वरो आउने रुकिन विरोध गर्ने, बरु उहाँबाट सिकौँ न ।’ उनको भेटघाटबाट तर्सिनु पर्ने कुनै कारण नभएको थापाले दावी गरेका छन् ।

‘फुटाउन नलागे भो नी त, मिलाउन लागेको, सुवेच्छा दिन लागेको हो भने त विरोध किन गर्ने, धन्यवाद पो दिनु पर्छ त,’ उनले भने ।पार्टी भित्रको विवादका बारेमा बोल्दै उनले प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर पार्टी एकिकरण संभव नभएको बताएका छन् ।

‘हट्नु पर्छ भनेर कसैले पाखुरा सुर्किएर हुदैन, विधान, सम्झौता, दस्तावेजले के भन्छ त्यही अनुसार गर्नु पर्छ, सम्झौतामा बहुमतका आधारमा निर्णय गर्ने भन्ने छैन, विधानमा एक पद, एक व्यक्ति भन्ने पनि छैन, त्यसैले त्यो समाधानको तारिका हैन,’ प्रेस सल्लाहकार थापाले भने।



प्रतिक्रिया दिनुहोस्