Logo

ग्याङस्टर देखि कुख्यात अपराधीको किन हुन्छ प्रहरी ‘इन्काउन्टर’



भारतमा ग्याङस्टर विकास दुबे प्रहरीसँग मुठभेडमा मारिएका छन् । आज विहान उनी झाँसी र कानपुरको बीचमा मारिएका हुन् । प्रहरीले उनी सवार गाडी पल्टिएपछि प्रहरीको पेस्तोल खोसी आक्रमणमा उत्रिएपछि दोहोरो मुठभेडमा मारिएो दाबी गरेको छ ।

हिजो मध्यप्रदेशको उज्जनमा पक्राउ परेका दुबे आज विहान साँढे सात बजेतिर मारिएका हुन् । कानपुर लगिदै गर्दा दुबे मारिएपछि धेरैको इन्काउन्टरबारे चासो भयो । कतिपयले यसलाई कथित इन्काउन्टर समेत भनेका छन् ।

हिजो उज्जेनमा पक्राउ पर्दा दुबेले प्रहरी नियन्त्रणमै भनेका थिए, म विकास दुबे, कानपुरवाला । उनी बोलेपछि एकजना प्रहरीले नबोल्न भन्दै पछाडिबाट पिटेका थिए । सायद दुबेले आफू प्रहरी नियन्त्रणमा रहेको जानकारी दिन खोजेका थिए ।

३ जुलाईको राति उनलाई पक्राउ गर्न भनी गएको प्रहरीमाथि दुबे र उनका सहयोगीले गोली प्रहार गरेका थिए । सोही क्रममा आठ जना प्रहरी मारिए । उनीहरु दुबेको इन्काउन्टरका लागि पुगेको विषय बाहिर आएको छ । उक्त घटनामा कानपुरमा आपराधिक गतिविधिबाट आतंक मच्चाउँदै आएका विकास दुवेका लागि महङ्गो सावित भयो । उनका सहयोगीहरु समेत धमाधम इन्काउन्टरमा मारिए ।

दुबे मारिनुअघि उनका पाँच जना सहयोगी लगातार मारिएको खबर आइरह्यो । उनको खोजी तिव्र भयो । मध्यप्रदेशमा पक्राउ पर्नुलाई उनले जानेरै आत्मसमर्पण गरेको भन्नेहरु पनि छन् । त्यसअघि उनको कानपुरस्थित घर प्रहरीले ध्वस्त पारिएको थियो ।

दुबे इन्काउन्टरले धेरै प्रश्न उब्जाएको छ । राजनीतिक आवरणमा आपराधिक कार्य गर्दै आएका उनी प्रहरीमा समेत प्रभाव राख्थे । दुबेलाई ३ जुलाईमा पक्राउ गर्न पुगेको प्रहरीबारे पूर्व जानकारी भइसकेको थियो । सूचना लिक गर्ने प्रहरी नै थिए । उनीहरुमाथि कारबाही बढाइसकिएको छ । यसरी अपराधमा भ्रष्ट प्रहरीको समेत साँठगाँठ खुलेको छ ।

भारतमा दुबेअघि पनि ग्याङस्टारहरु धेरैजनाको इन्काउन्टर भएको थियो । विगतमा विहारमा धेरै ग्याङस्टार मारिए । पछिल्लो समय योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि सर्वाधिक इन्काउन्टरका घटना भइरहेका छन् । योगी युगमा इन्काउन्टरले किर्तिमान तोडेको छ । उनको कार्यकालमा दुई वर्षमै सयभन्दा बढी इन्काउन्टरमा मारिएको तथ्यांक छ ।

इन्काउन्टर हुनुमा अपराध गर्ने बारम्बार अदालती प्रक्रियाबाट छुट्ने र पुनः आपराधिक गतिविधि गर्ने पनि कारण रहेको छ । दुबे पनि बारम्बार छुटेका थिए । त्यसैले ग्याङस्टारहरुलाई मुठभेड भन्दै सिध्याउने रणनीति पनि देखिने गरेको छ । यस्तो घटना भारतमा मात्र नभई नेपालमा पनि बेला बेलामा हुने गरेको छ । मुठभेड भनेर मारिएकाका परिवारले बेला बेलामा विषय उठाउने समेत गरेका छन् ।

दुबेको मुठभेड हुनुभन्दा केही घन्टा अगाडि मात्र अदालतमा हत्याको सम्भावना रहेको भन्दै निवेदन दर्ता भएको खुलेको छ । निवेदनमा तत्काल अदालतमा उपस्थित गराउन भनिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । तर, निवेदन दर्ता भएको केही घन्टामै दुबे तीन गोली छाति र एक गोली पाखुरामा लागेको अवस्थामा मारिए । जसलाई दोहोरो मुठभेड भनियो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्