खड्ग ओलीको सत्ताको खड्को टरेकै हो ?


काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मबल गजबकै छ । दुईपटक मृगौला प्रत्यारोपण गरिसकेपनि उनमा त्यस्तो भाव नै देखिदैन । उनको सक्रियता र निडर स्वभावले कसैलाई पनि लाग्दैन कि दुई पटक मृगौला प्रत्यारोपण गरिसकेका हुन् । उनको बोली झन् कडा बन्दै गएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओली दुई पटक प्रधानमन्त्री भइसकेका छन् । पहिलोपटक उनको दल अल्पमतमा हुँदा मिलिजुली सरकारको प्रधानमन्त्री बने । तर, दोस्रो पटक बहुमतको प्रधानमन्त्री बने । नेपालको इतिहासमा दुई तिहाईको प्रधानमन्त्री बन्ने वीपी कोइराला पछि ओली मात्र हुन् ।

दोस्रो कार्यकाल झण्डै साँढे दुई वर्ष सरकार सञ्चालन गरिसकेका उनलाई विगत तीन महिनायता चुनौती थपिदै गएको छ । लकडाउन शुरु भएपछि वैशाखतिर उनको सरकारमाथि चुनौती थपिएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नै मागे । ओलीइतर समुहमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम समेत थिए । तर, ओलीले रणनीतिक रुपमा विफल बनाइदिए । बामदेवलाई प्रधामन्त्री बनाऔं भनेर फालेको अस्त्रले काम गर्यो । उनको सत्ता संकट टर्यो ।

ओलीमाथि फेरि सत्ता संकट थपिएको छ । उनीविरुद्ध स्थायी कमिटीका छ जना लागेर राजीनामा मागे । तर, ओलीले त्यसलाई टार्न खोजिरहेका छन् । स्थायी कमिटी बैठक पटक पटक सार्दै लगेका छन् । चारपटक बैठक सरिसकेको छ । २ साउनमा बस्ने गरी फेरि स्थगित भएको छ ।

ओली सत्ता संकट आउँदा कोरोना भाइरसको महामारीले पनि अप्रत्यक्ष रुपमा साथ दियो । देश महामारीमा जुधिरहेकाले राजीनामा माग्ने विषयले उनका विपक्षी अलोकप्रीय हुने भयमा परे । महामारीका कारण संकटकाल लगाउन सक्ने अवस्था पनि बन्यो । यसरी ओलीको सत्ताको खड्को टरेको टर्यै छ ।

यसपटक ओलीमाथि चुनौती बढ्दा राष्ट्रवादको मुद्दाले भुमिका खेल्यो । उनले नयाँ नक्शा संसदबाट पारित गराए । जसका कारण विपक्षीमाथि नैतिक दबाब बढ्यो । ओली हटाउँदा नराम्रो आरोप लाग्न सक्ने अवस्था उनका विरोधीमा परेको छ ।

अहिले फेरि केही भारतीय मिडियाले ओलीविरुद्ध गलत प्रचारवाजी गरे । नेपालमा भारतीय मिडिया आलोचित भए । ओलीलाई अप्रत्यक्ष लाभ मिल्यो । भारतीय मिडियाले ओलीविरुद्ध प्रचार गरेपनि नेकपाभित्र उनका विरोधी पनि हत्तपत्त ओलीलाई हटाउन लागिहाल्न नहुने अवस्थामा पुगेका छन् ।

अहिले फेरि बाढीपहिरोको जोखिम बढेको छ । देशका विभिन्न स्थानमा बाढी पहिरोले धनजनको क्षति पुगेको छ । विपत्तिका कारण पनि स्थायी कमिटी बैठक राख्न नैतिकताले नमिल्ने अवस्था बनेको छ । जसका कारण बैठक स्थगित गर्न अर्का अध्यक्ष प्रचण्ड वाध्य भए । यसरी कहिले प्रकोप त कहिले विवादास्पद राजनीतिक घटनाक्रमले ओलीको सत्ता खड्को टारिरहेको छ ।-File Photo