Logo

ओलीसामू प्रचण्ड निरीह, खनाल-नेपाल रुष्ट !



काठमाडौं, २६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रभाव नेपाली राजनीतिमा कमजोर बन्दै गएको छ । खुल्ला राजनीतिमा आएपछि अध्यक्ष दाहालको भूमिका निर्णायक रहँदै आएको थियो । पछिल्लो दशक नेपाली राजनीति दाहालकै वरिपरि घुमेको थियो । तर, तत्कालिन् नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच एकता भएपछि प्रचण्डको भूमिका कमजोर बनेको छ । अब उनी नेपाली राजनीतिमा निर्णायक नरहेको कुरा स्वयम उनीनिकट नेताहरुको दाबी छ ।

दुई पार्टीबीच एकता भएपछि बनेको नेकपामा दुई जना अध्यक्ष छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड । दुई जना अध्यक्षमध्ये आफू पहिलो र दाहाल दोस्रो वरियताको भनेर ओलीले सार्वजनिक कार्यक्रममै बोलिदिएका छन् । ओलीलाई स्वास्थ्यले साथ दिएसम्म नेकपामा अरु कसैले पनि पार्टीको नेतृत्व र सरकारको नेतृत्व गर्छु भनेर नचिताएपनि हुने भनेर संविधानविद् डा. भीमार्जुन आचार्यले स्पष्ट पारिसकेका छन् ।

कतिपयले दाहालले ओलीसँग चुनावी गठबन्धन गर्नुसम्म ठीक थियो तर पार्टी एकता गर्नु नै गलत भएको टिप्पणी गर्ने गरेका छन् । दाहालनिकट एक नेताले भने,‘प्रचण्डले केपी ओलीसँग चुनावी गठबन्धन गर्नु ठीक थियो । तर, उहाँले पार्टी एकता गर्नु नै महाभूल भयो । उहाँ चुक्नुभयो ।’ ओलीले दाहाललाई कहिल्यै पनि नरुचाएको र दाहालको हित हुनेगरि ओलीले कुनैपनि कदम चाल्नै नसक्ने उनको ठोकुवा छ ।

नेकपा एमालेसँग पार्टी एकतापछि नै दाहालको शक्ति घटेको छ । दाहालले ओलीसँग सरकारको नेतृत्व अढाई/अढाई वर्ष गर्नेगरि आलोपालोको सहमति गरेका थिए । तर, पछि उनले उक्त सहमतिबाट पनि आफूलाई ब्याक गरेर पाँच वर्ष नै ओलीलाई सरकार चलाउन दिने सार्वजनिक रुपमै स्पष्ट पारे । आलोपालो सहमतिबाट ब्याक हुनु दाहालको अर्को भूल भएको उनीनिकट नेताहरुको टिप्पणी छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले त दाहालले ओलीसँग गरेको आलापालो सहमति छोडेर गलत गरेको गुनासो गर्ने गरेका छन् । रायमाझी अहिले दाहालको क्याम्पमा समेत छैनन् । उनले सार्वजनिक रुपमै ओलीलाई हटाउन नहुने बताउँदै आएका छन् ।

गत मंसिरमा ओली–दाहालबीच ओलीले सरकार र दाहालले पार्टीको नेतृत्व गर्नेगरि नयाँ समझदारी भयो । यो सहमति भएपछि दाहालले सार्वजनिक रुपमै बल्ल आफूलाई कार्यकारी अध्यक्षको ‘फिलिङ’ आएको अभिव्यक्ति दिएका थिए । तर, ओलीले दाहाललाई पार्टीमा एकल निर्णय गर्नसक्ने अधिकार कहिल्यैपनि दिएनन् । बरु, पाईला-पाईलामा दाहालमाथि अंकुश लगाईरहे । दाहाल ओलीसामू कतिसम्म निरीह बने भने ओलीले सार्वजनिक रुपमै आफू सिनियर अध्यक्ष र दाहाल जुनियर भन्दापनि कुनै प्रतिक्रिया दिएनन् ।

यही असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटीको पाँचौ बैठकमा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीलाई हटाउने माग भएसँगै बैठक नै प्रभावित बन्दै आएको छ । ओलीको राजीनामा दाहालले मात्रै होईन पूर्व एमाले खेमाकै अधिकांश सदस्यहरुले मागेका छन् । बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बैठकमै ओलीको राजीनामा माग गरेका थिए ।

आज बस्ने भनिएको स्थायी कमिटीको बैठक एक साता स्थगित् भएको छ । यो बीचमा दुई अध्यक्षबीच सहमतिको लागि पटक-पटक एक्लाएक्लै भेटवार्ता पनि भएका छन् । तर, ओलीले आफूले कुनैपनि हालतमा दुवै पदबाट राजीनामा नदिने बरु बहुमत भए हटाएर देखाउन दाहाललाई खुल्ला चूनौति दिएका छन् । त्यही पनि दाहाल–नेपाल समूहले ओलीलाई हटाउनेबारे कुनै कदम चाल्न सकेन । दाहालले अध्यक्षको हैसियतले स्थायी कमिटी बैठक सुचारु गर्न सक्नुपर्दथ्यो । तर, उनले त्यो गर्न नसक्नुको प्रमुख कारण–ओलीसामू निरीह हुनु नै हो ।

ओलीविरुद्ध बहमुतको डण्डा देखाएर राजीनामा मागेपछि त्यसलाई निश्कर्षमा पुर्याउन दाहालले चुकेको चर्चा तथा परिचर्चा पार्टीभित्र र बाहिर भैरहेको छ । दाहाल–नेपाल समूहकै एक नेता भन्दै थिए,‘नेकपामा अब केपी ओली नै किङमेकर हुनुभयो । अर्का अध्यक्ष प्रचण्ड ओलीको निर्देशनमा चल्ने पात्रको रुपमा देखिनुभयो ।’

ओलीविरुद्ध दाहालको पक्षमा पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालजस्तो नेता उभिँदा र उनीहरुले समेत अब सहमतिको नाममा ओलीसँग वार्ता नगरी अब अघि बढ्न आग्रह गर्दा दाहालमाथि अनिर्णयको बन्दी बनेको आरोप छ । पछिल्लो समय दाहालले बोलाउने आफूनिकटहरुको भेलापनि प्रभावहिन बन्न थालेका छन् । दाहालले बोलाउने गरेका भेलामा सहभागिता जनाउन उनीनिकट नेताहरुले नै खासै रुचि नदेखाएको स्रोतको दाबी छ। file photo



प्रतिक्रिया दिनुहोस्