Logo

बस्नेतको आरोप : ‘यो सरकार बनाउने, टिकाउने कुरामा विदेशीहरुको ठूलो चलखेल छ’



काठमाडौं, २६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान सरकार बनाउने र टिकाउने कुरामा विदेशीहरुको ठूलो चलखेल रहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ नामक कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भनेका छन्,‘मलाई जानकारी भएसम्म नेकपालाई सत्तामा टिकाउन र सत्तामा पु¥याउन विदेशीहरुको चलखेल कति छ भन्ने बारेमा आज चिनीयाँ राजदूतले नेकपाभित्रको आन्तरिक झगडा चरमोत्कर्षमा पुगेको बेलामा पटक–पटक नेताहरुको घरदैलोमा गएर नांगो तरिकाले भूमिका खेलिएको छ ।’ प्रस्तुत छ बस्नेतसँग धमलाले गरेको कुराकानीको सम्पादित अंश :

बाढीपहिरोले सिन्धुपाल्चोकमा वितण्डा मच्चायो, अहिलेसम्मको ताजा अपडेट बताउनुस् ?

२०७७ असार २४ गते साँझदेखि २५ गते बिहानसम्म आएको अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउपालिकाका विभिन्न ठाउँहरुमा बाढीपहिरो जानुका साथै ठूलो धनजनको क्षति पनि भएको छ । अन्यत्र ठाउँमा पनि धनको क्षति त भएको छ । तर, मानवीय क्षेत्र भने दुई ठाउँमा भएको छ । जसानुसार बाह्रबिसे नगरपालिकाको गाफी भन्ने गाउँको जम्मु भन्ने टोलमा २२ जना मान्छे सिगटे खोलाको पहिरोबाट बेपत्ता भएकोमा दुई जनाको लाश प्राप्त भएको छ । २० जना मान्छेहरु अहिलेसम्म बेपत्ता छन् । त्यस ठाउँमा सबिना बस्नेत, सुरेश तामाङ र माधवकृष्ण बस्नेतलाई हामीले हेलिकप्टरबाट ह्याम्स अस्पतालमा हिजै पटक–पटक गरेर ल्याएका छौं । त्यस्तै उता भोटेकोशी गाउपालिका पट्टिका माया तामाङ, पेम्बा तामाङ, बुद्धिमाया तामाङ र सात दिनको बच्चालगायत यी सात जनतालाई ह्याम्स अस्पतालमा ल्याएर उपचार गराइएको छ । तपाईंको रेडियोमार्फत सरकार, प्रशासन र सम्बन्धित निकायलाई के ध्यानाकर्षण गराउन चाहन्छु भने ‘२० जना मान्छे पहिरोले पुरिएर बेपत्ता भएका छन् । न त्यहाँ एउटा स्काभेटर पु¥याइएको छ, न त्यहाँ कुनै खोजीको काम भएको छ न कुनै राहत र उद्दारको काम भएको छ ।”

हिजो सभामुख अग्निप्रसाद सापकोटापनि पुग्नुभएको थियो अहिलेसम्म किन उद्दार हुन सकेन सरकार किन चुक्यो ?

तपाईंंलाई मैले अगाडिनै पनि भनिसकेको छु । हामीले बिरामीहरुलाई उपचार गर्न ल्यायौं । अग्निप्रसाद सापकोटाजी पनि हेलिकप्टर चढेर हिड्नुभएछ । त्यो ठाउँमा बादल लागेपछि हेलिकप्टरलाई बीचैमा रोक्न लगाउनुभयो । उहाँ घट्नास्थल जानुभएन । हेलिकप्टर नगएपछि काठमाडौं नै फर्किनुभयो । पछि काठमाडौंबाट फेरि उड्नुभयो बादल लागेजस्तो भएपछि चौतारामा गएर बस्नुभएछ । हामीले चाहीं त्यही बादल लागेकै बेलामा बिरामीहरुलाई ओसारपसार गरिनैरह्यौं दिनभर । पछिबाट बादल फाटिसकेपछि जम्बु भन्ने ठाउँको पहिरो गएको ठाउँमा पुग्नुभयो सभामुखज्यू त्यही हो ।

त्यसोभए अहिलेसम्म त्यहाँ राम्रोसँग उद्दार हुन सकेको छैन ?

राम्रोसँग होइन । पहिरोले पुरिरहेका मानिसहरु झिकिदिने र उद्दार गर्ने काममा सरकारी पक्षबाट कुनै उपस्थिति देखिएको छैन । सरकारको यस्तो खालको रवैयाले त्यहाँका जनताहरु आक्रोशित छन् ।

सिन्धुपाल्चोकमा भोटेकोशी र सुनकोशी किन जोखिममा परे ?

एक त सिन्धुपाल्चोक अहिलेमात्रै होइन, धेरै पहिलादेखि बाढीपहिरोले नोक्सान गरेको ठाउँ हो । यो जिल्ला विभिन्न किसिमका दैवी प्रकोपमा धेरै पटक पर्ने गरेका छन् । आजभन्दा ६ वर्ष अगाडि जुरेको पहिलो जाँदा पनि भोटेकोशी जुन तल आएपछि सुनकोशी पनि भनिन्छलाई १७ घण्टा थुनेको थियो । त्यस पहिलोले पनि कोशी नै थुनेर तल बनाएकाले एकै ठाउँमा १४५ जनासम्म मान्छे मारेको थियो । त्योभन्दा अगाडि पनि भोटेकोशीले ठूलो संख्यामा मान्छे मारेको थियो । एउटा यहाँको भौगोलिक बनावट पनि त्यस्तै छ । अर्को यो बेल्टको सबैभन्दा बढी पानी पर्ने ठाउँ पनि त्यही हो जुन ठाउँ पटक–पटक क्षतिग्रस्त भइरहेको छ । खासगरी २०७२ सालको भूकम्प आइसकेपछि सिन्धुपाल्चोक जिल्ला एकदमै जोखिममा रहेको थियो । नेपालमा सबैभन्दा बढी क्षेति भूकम्पमा सिन्धुपाल्चोकमा भएको हो । मानवीय क्षति पनि ४० प्रतिशत सिन्धुपाल्चोकमै भएको हो । त्यसपछि वस्तीलाई मिलाएर राख्ने अथवा बसेको ठाउँबाट हटाएर स्थानतरण गर्ने जुन किसिमको योजना थियो त्यो पनि सफल हुन सकेन । अलमल्याइएको, भुलाइएको कारणले पनि यहाँका बासिन्दाहरु जोखिममा परिराखेका हुन् । अर्कोतिर बाटाघाटा खन्ने निहुँमा र जथाभावी ढुंगा खानी सञ्चालन गर्ने कामले पनि बाधा पु¥याएको छ । त्यतातिर सरकार र प्रशासनले ध्यान दिन सकिराखेको छैन । अहिले जम्बु भन्ने ठाउँमा पहिलो गयो र ठूलो क्षति भयो । त्यहाँ नगरपालिकाले खनेर विभिन्न भौतिक संरचनाको काम गरिरहेको अवस्था थियो । स्थानीय जनताले यहाँ नखनिदिनुहोला पहिरो जान्छ भन्दाभन्दै पनि माधवकृष्ण बस्नेलाई हेलिकप्टरमा लिएर काठमाडौं आइरहेका थियौं । उनलाई हेलिकप्टरमा राख्नेबित्तिकै ‘मैले त यीनीहरुलाई धेरै पटक भनेको हुँ’ –यहाँ नखनिदिनुहोस्, यहाँ पहिरो जान्छ भनेर गाउँलेहरुले धेरै कराएका थिए । हामीले अनुरोध गर्दागर्दै पनि उहाँहरुले मान्नुभएन भनिरहेका थिए माधेवकृष्णले । यसरी स्थानीय नमानीनमानी जनप्रतिनिधिहरुले नमान्दा अहिले यस्तो पहिरोको सामना गर्नुप¥यो ।

तपाईं त सञ्चारमन्त्री भइसकेको व्यक्ति हो, भारतीय न्यूज च्यानलहरु नेपालमा सरकारले बन्द गरेको छ, यो ठीक हो ?

अहिलेको सरकारले गरेको के कुरा ठीक, के कुरा बेठिक भन्दा पनि आपूmलाई उचित लागेन भने त्यसको विरोधमा निर्णय गरिदिइहाल्छ । यो सरकारले कसै बोलेको कुरा सहन र भनेको टेर्न सक्दैन । यतिमात्रै होइन अहिले सामाजिक सञ्जालहरु सबै बन्द गर्न लागेको छ । यो सरकारले मिडियालाई यति सेन्सर गर्न खोजिरहेको छ सकेसम्म बन्दै गर्न खोजिरहेको छ । जनताको आवाज मुखरित नहोस् भनेर लागिरहेको छ । विपक्ष दल, कार्यकर्ता तथा जनता कसैले पनि सरकारको विरोध ग¥यो भने खेदिहाल्ने । पत्रकारले केही लेख्यो भने मुद्दा हाल्दिइहाल्ने । हिजो पनि सरकारले यति कठोर विधेयक ल्याउन खोजेको थियो । त्यसको मिडिया, नागरिक समाज, मानवअधिकारवादी र जनताले विरोध गरे र विधेयक फिर्ता पनि गराए । सामाजिक सञ्चालमा मात्रै सरकारको मपमान गरेको महसुस भयो भने १० औं लाख जरिवाना तिर्नुपर्ने, वर्षौं जेल जानुपर्ने । यस्तो किसिमका विधेयकहरु यो सरकारले पटक–पटक नल्याएको पनि होइन ।

अहिले त भारतीय मिडियाले नेपालका प्रधानमन्त्री र जनताप्रति अनर्गल प्रचार ग¥यो नि ?

अनर्गल प्रचार गरे त यो सरकारले अहिले छुट्टै व्यवस्था गरेको होइन भन्ने मलाई लागेको हो । आफ्नो विरुद्धमा कसैले बोल्यो कि मुख थनिदिइहाल्ने, मुद्दा लाइदिहाल्ने, जुल हालिहाल्ने काम सरकारले गरिरहेको एउटा शृंखलामा फेरि यो एउटा कुरा थपियो । त्यसैले भारतले केही कुरा नराम्रो गरेको छ भने नेपाली राजदूतावा त्यहाँ छ । यहाँ भारतीय राजदूतावास छ । त्यहाँ गएर कुटनीतिक तरिकाले कुरा गर्नुप¥यो । किन यसरी लेखिरहेको भन्नुप¥यो । एउटा देशको सार्वभौमसत्ताको बारेमा डिम्लोमेसी कुरा गर्नुप¥यो । उनीहरुले विरोध गरेका छन् भने आपूmले गरेको केही गल्ती देखिएका छन् भने त्यसलाई सुधार्नुप¥यो । तर, जसले विरोध गर्छ उसको मुख थुनिहाल्ने क्रियाकलाप अन्तर्गत यो काम भएको हो भन्ने मलाई लाग्छ । यहाँ राष्ट्रको फाइदाको लागि, जनताको हितको लागि भन्दा पनि आफ्ना विरोधीहरुलाई तह लगाउने, आपूm चाहीं विरोधी कुरा नसुन्ने कार्यशैलीअन्तर्गत यो काम भएको हो भन्ने मलाई लाग्छ ।

तपाईंलाई पनि थाहा छ, नेपालका प्रधानमन्त्री र चिनीयाँ राजदूतको बारेमा जसरी भारतीय मिडियाले लेख्यो नि यो गम्भीर आपत्तिजनक होइन र ?

यो विषयमा म के भन्न चाहन्छु भने, ‘चिनीयाँ राजदूतले भारतको बारेमा के भन्नुभयो हामीलाई जानकारी छैन ।’ मलाई जानकारी भएसम्म नेकपालाई सत्तामा टिकाउन र सत्तामा पु¥याउन विदेशीहरुको चलखेल कति छ भन्ने बारेमा आज चिनीयाँ राजदूतले नेकपाभित्रको आन्तरिक झगडा चमोत्कर्षमा पुगेको बेलामा पटक–पटक नेताहरुको घरदैलोमा गएर नांगो तरिकाले भूमिका लेखिएको छ । त्यसले नेपालीहरुको इज्जत, प्रतिष्ठामा नै आँच आउने गरी हुर्मत लिने काम भएको छ । अहिले फेरि एउटै पार्टीको दुई तिहाई हाराहारीको सरकार छ । त्यसलाई टिकाउन कसले खेल खेलेको छ हिजो भारतले खेल खेलेको होइन । नेकपा माओवादी र एमाले जोड्न भारतले खेल खेल्यो भनेर पत्रपत्रिकाहरुमा आएकै हुन् । त्योबेलामा भारतीय कुटनीतिज्ञहरु र उच्चतहका नेताहरु नेकपाका नेताहरुलाई भेट्न हिँडेकै हुन् । त्यसैगरी अहिले चिनीयाँ राजदूत हिँडिरहनुभएको छ । अरु बेलाका कुनै आश्चर्यजनक विषय नै होइनन् । नेकपाले आफू सत्तामा टिकिरहन र पुग्नका लागि जुनसुकै खालको खेलोमेलो गर्न पछि पर्दैन । हिजो पूर्व माओवादी र पूर्व एमालेको कसरी समिकरण भयो । पहिला नेकपा माओवादी कांग्रेससँग सहकार्य गर्ने भनेर पनि हिडेको हो । त्यसकारण यो सरकार बनाउने, टिकाउने कुरामा विदेशीहरुको ठूलो चलखेल छ ।

हिजो पनि चिनियाँ राजदूतले प्रचण्डलाई भेटेर सरकारलाई सहयोग गर्न सुझाउनुभयो नि ?

यो मलाई र राजनीतिक नेतृत्वलाई मात्रै होइन सारा नेपाली जनतालाई थाहा छ । अहिले आन्तरिक झगडा चरमोत्कर्षमा पुगेको बेलामा चिनियाँ राजदूतले घर–घरमा गएर सत्ताधारी नेताहरुलाई घेट्नुको औचित्य के हो ? यो स्पष्ट छ । त्यसकारण मैले भनिरहनुपर्ने आवश्यकता छैन । यो कुरा यो देशको मिडियाले भनिरहेको छ । नेपाली जनताले भनिरहेका छन् । यिनै मिडियाबाट हिजो भारतसमेत लागेर नेकपालाई सत्तामा पु¥याइदियो भन्ने समाचार पनि हामीले सुनेकै हो । भारतीयहरुसँग भएको चलखेल त्यो बेलामा पनि थाहा भएकै हो । अहिले फेरि चिनियाँहरुको चलखेल बढेको भन्ने पनि सुनिरहेका छौं । चिनियाँ राजदूत नेताहरुको घर–घर धाइरहनुभएको छ । नेपाल सरकारका प्रतिनिधिहरुले चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फरेन्स गरिरहेका छन् । त्यसैले यस्तो खालको खेलोमेलो चलिरहेको छ । सरकारी पक्षबाट यस्ता खालका खेलामेला हुनु असोभनीय नै देखिन्छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्