Logo

भारतीय टिभी बन्द गर्ने निर्णयबारे बोल्यो सरकार, एमएसओलाई धन्यवाद



असार २६, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रशारण रोकेकामा विदेशी च्यानल वितरण मल्टि सिष्टम अपरेटर (एमएसओ) लाई धन्यवाद व्यक्त गरेको छ ।

शुक्रबार मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी प्रशारण रोकेकोमा धन्यवाद व्यक्त गरिएको हो ।

नेपालका डिजिटल केवल सेवाप्रदायकहरुले जिम्मेवारी बोधका साथ स्वतस्फूर्तरुपमा प्रसारण रोकेको मन्त्रालयको ठहर छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानून तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिएको छ ।

केही भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर झुटो समाचार प्रशारण गरेका थिए । आरोप र कुण्ठाले भरिएका आधारहीन समाचारलाई लिएर भारतीय टेलिभिजन बन्द गर्नुपर्ने माग उठिरहेको थियो । विहिबार एमएसओले प्रशारण रोक लगाएको थियो ।

मन्त्रालयले भारतीय सञ्चार माध्यमले कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचार प्रकाशन गरेको भन्दै पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त सामग्रीहरुले दुई देश बीचको मित्रवत सम्बन्धमा प्रतिकुल प्रभाव पार्न सक्ने बताएको छ ।

यस्तो छ विज्ञप्ति :



प्रतिक्रिया दिनुहोस्