Logo

ओलीको सन्देशः राष्ट्रवादको आडमा सत्ता नछाड्ने, नेकपा विवादले गणतन्त्र खतरामा परेको भन्दै विरोधीलाई गलाउने



समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ अचानक देशवासीका नाममा सम्बोधन गरे । उनले कोरोना भाइरसको महामारीसँग जुधिरहेको सन्दर्भ देखि बाढीपहिरोको बितण्डाबारे समेत विवेचना गरे । प्रकोपतर्फ संकेत गर्दै उनले अहिले विवाद गर्ने बेला नभएको तर्क गर्दै दलहरुको आन्तरिक विवाद उनीहरु स्वयंले सुल्झाउनुपर्नेमा जोड दिए ।

ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा उनको सम्बोधन आएको हो । सम्बोधनको अन्ततिर उनले कतिपयले राजनीतिक स्थायित्व, स्थिरता र स्थापित प्रणालीप्रति चिन्ता व्यक्त गरेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा आउनसक्नेतर्फ उनको संकेत थियो । उनले आफ्ना तर्फबाट त्यसको रक्षाका लागि दृढ अडान रहने स्पष्ट पारे ।

‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पाइन्छ,’ प्रधानमन्त्रीले ओलीले भने, ‘म आश्वस्त पार्न चाहन्छु आम नेपालीहरुबीच आपसी एकता कायम राख्न, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान माथि उठाउन र देशको सार्वभौमिकता र भौगोलिक अखण्डता अच्छुन्न राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास जारी रहनेछ ।’

ओलीले आन्तरिक विमति र समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट कसैले बिमुख बन्न नमिल्ने बताए । सरकार जस्तोसुकै परिस्थितिमा पनि जनताको जीवनरक्षामा केन्द्रित हुने बताए । उनको संकेत नेकपाको विवादतर्फ थियो । पार्टीभित्र राजीनामाको माग भइरहँदा उनको सन्देश कुनै हालतमा राजीनामा नदिने थियो । त्यसैले आफू दायित्वबाट नपन्छने स्पष्ट पारे ।

‘आन्तरिक विमति र समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न मिल्दैन,’ ओलीले भने, ‘सरकारको सम्पूर्ण ध्यान महामारीमा परेका जनताको जीवनरक्षामा केन्द्रित रहनेछ ।’ बरु उनले महामारी र प्रकोपको समयमा आन्तरिक विवाद गरेर बस्ने बेला नभएको बताए ।

ओलीले आफ्नै दलभित्रको विवादतर्फ संकेत गर्दै महामारीमो पनि राजनीतिक विषय र सन्दर्भ उठेकोमा जनताको चासो बढेको बताए । यस्तो बहस किन ? भन्ने प्रश्न उठ्नु स्वाभाविक भएको बताए । तर, उनले राजनीतिक दलको बिमती र विवादलाई नितान्त आन्तरिक भन्दै सम्बन्धित दलले नै समाधान गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने, ‘पार्टीभित्रका विमति नियमित प्रक्रिया हुन् । समस्या समाधानका लागि धैर्यता र संयमता आवश्यक हुन्छ ।’

पार्टीभित्रको विवादमा ओलीले विरोधीलाई गलाउँदै लगेका छन् । उनले हिजो सन्देशमार्फत् यही संकेत गरेका हुन् । त्यसैले धैर्यता र संयमताको विषय उठाए । आन्तरिक बेमेलले गणतन्त्रमा खतरा पर्ने भन्दै उनले चेतावनी र खतरा दुवै औल्याएका छन् । राष्ट्रिय स्वाभिमान, देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको विषय उठाएर उनले राष्ट्रवादको विषय उठाए । ओली राष्ट्रवादको आँडमा सत्ता नछाड्ने र गणतन्त्र खतरामा परेको भन्दै आन्तरिक एकताको आग्रहसहित विरोधीलाई गलाउने रणनीतिमा देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्