Logo

विदेशी शक्ति केन्द्रहरुले भेटघाट गर्दा नेपालको आन्तरिक मामिलामा चलखेल नगरिदिए हुन्थ्यो- देवेन्द्र पौडेल



काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टी कुनै हालतमा एक भइरहनुपर्नेमा जोड दिएका छन् । एकताका लागि सबैले आफ्नो स्थानबाट त्याग गर्नुपर्नेमा जोड दिए । उनले चिनियाँ राजदुत होउ याङ्कीको पछिल्लो समय देखिएको राजनीतिक भेटघाटप्रति गम्भीरता देखाए । नेता पौडेलसँग यीनै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराानीः
नेकपा एक रहिरहने सम्भावना कति छ ?
यहाँले भनेजस्तै केही जटिलताहरु निकै प्रतिकूल अवस्थामा केन्द्रित भएको कुरा साँचो हो । यतिबेला निकै अप्ठ्यारो कहरको बीचमा नेकपा गुज्रिएको छ । कतिबेला के हुने भनेर एउटा आशंका, त्रासको बीचमा देशैभरिका साथीहरुले खबरदारी गरिरहनुभएको छ । तर, दुवैजना अध्यक्षले यो पार्टीलाई एकैठाउँमा राख्नुको विकल्प छैन । कतै–कतै पार्टीलाई एकातिर छोडेर संसद्मा टाउको गनेर अर्को नेपाली कांग्रेस पार्टीसँग सम्झौता गरेर सरकार चलाउने भन्ने पनि सुनियो । त्योभन्दा दूर्भाग्य, त्यसभन्दा नालायकीपन र जनतालाई धोका अरु केही पनि हुन सक्दैन ।
तपाईंहरुले प्रधानमन्त्रीलाई हटाउन खोज्नुभएको छ, उहाँले दुवै पद छोड्दिन भन्नुभएको छ नि ?
अहिले प्रधानमन्त्री फस्ट अध्यक्ष र देशको कार्यकारीको जिम्मेवारीमा हुनुहुन्छ । पार्टीका समर्थक, सुभचिन्तकको मतका आधारमा उहाँ प्रधानमन्त्री हुनुभएको हो । त्यसैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले अहिलेको संकट मोचनको काम उहाँले गर्नुपर्छ । त्यो उहाँलाई हामीले भनेका छौं ।
तपाईंहरुले त भन्नुभयो तर प्रधानमन्त्रीले त टसमस गर्नुभएको छैन ?
स्थायी कमिटिको कुरा नसुन्ने, केन्द्रीय कमिटिको कुरा नसुन्ने, प्रतिपक्षको कुरा नसुन्ने कतिपय अन्तर्राष्ट्रिय कतिपय नेपालको हित चाहने समुदायहरुको कुरा नसुन्ने, जनताको कुरा नसुन्ने र नागरिक समाज, बुद्धिजीवी, पत्रकारको कुरा नसुन्ने हो भने कसको कुरा सुन्नुहुन्छ ? प्रधानमन्त्रीले । केही दुई, चारजना प्रभाव पार्ने व्यक्ति, व्यक्तित्वहरु हुनुहोला । त्यसप्रति हाम्रो केही भन्नु छैन । मैले अगाडि बनेका व्यक्ति, व्यक्तित्वहरुको कुरा प्रधानमन्त्रीले सुन्नैपर्छ । त्यो सन्नको निम्ति हामीले वातावरण बनाएका छौं ।
प्रधानमन्त्रीले त प्रचण्डलाई प्रधानमन्त्रीको लागि अर्को चुनाव कुर्नुहोस्, अध्यक्षको महाधिवेशन पर्खनुहोस् भन्नुभयो नि ?
त्यो प्रधानमन्त्रीले भन्नुभएको छ । उहाँले भनेको कुरा आंशिक रुपमा सत्य हो । तर, फेरि पनि उहाँ पार्टी इन कमाण्डको प्रधानमन्त्री हुनुहुन्छ । पार्टीभन्दा सार्वभौम, स्वतन्त्र, पार्टीको विधान, प्रतिवेदन, नियमलगायत केही पनि लागु नहुने प्रधानमन्त्री हुनुहुन्छ । जसरी उहाँले पार्टी एकता हुनेबेलामा एउटा शब्द भन्नुभएको थियो, ‘जुत्ताको साइज हेरेर खुट्टा काटेर भएपनि एकता गर्नुपर्छ’ अहिले त्यो शब्द उहाँकैमा फर्किएर आएको छ । त्यसकारण खुट्टाको साइज काटेर भएपनि यो एकतालाई बचाउनुपर्छ । अहिले समस्या परेको कार्यविभाजनमा हो । यहाँ दुई जना अध्यक्षको कार्य विभाजन, हिजोका सहमतिहरु र विधानमा गरिएका व्यवस्था अनुरुप पार्टीलाई लिएर जाने हो । त्यसैले हिजो प्रधानमन्त्रीले भने अनुरुप कही न कही समीक्षा भएर एउटा निकास दिनुहुन्छ ।
स्थायी कमिटि बैठकमा सहमति भएन, प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने तपाईंहरुको विकल्प चाहीं के ?
सहमति हुनलाई यो फरक पार्टी पनि होइन । हिजो एकता हुनेबेलामा गरेको प्रतिवद्धता र सहमति । बीच बीचमा गरिएका पार्टीगत सहमतीय गतिविधिहरु, अर्को अहिले पार्टीले गरेको डिसिजन यी तीनवटै कुरा जस्तो प्रधानमन्त्रीले पार्टीको निर्णय मान्छु भन्नुप¥यो । सहमतिप्रति प्रतिवद्ध छु भन्नुपर्यो । त्यसको साथै जिम्मेवारी बोध पनि ममा केन्द्रित छ भन्ने कुराको ज्ञान सम्माननीय प्रधानमन्त्रीलाई हुनुपर्छ । उहाँका उहाँले भनेका जस्तै केही भनाइहरु हामीले पनि सुनेका छौं । उहाँले आफ्ना निकटवर्तीहरुलाई पनि भन्नुभएको छ । स्वयं हामीसँग पनि भन्नुभएको छ । अब निकास कसले दिने ? त्यसकाण समस्याको निकास त पार्टी अध्यक्ष भएपनि दिनुपर्यो नि । अन्त्यमा यो पार्टीको नीति, पद्धति र सिद्धान्त चलाउने प्रतिवद्ध उहाँले गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।
प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष कुन पद छोड्दा चाहीं सहमति हुन्छ त ?
शीर्ष नेताहरुको कार्यविभाजन विगतमा भएका सहमति, सहकार्य र निर्णयहरुको समीक्षा गर्दै अब पार्टी, सरकार, जनमतलाई अगाडि बढाउनका निम्ति पार्टीका सिनियर नेताहरु मूलतः दुईजना अध्यक्षहरुको कार्यविभाज ठोस, मूर्त रुपमा गर्नुपर्छ । एक व्यक्ति एक पद भन्ने कुरा हामी पहिलादेखि उठाउँदै आएका थियौं । त्यसले मूर्त रुप लिएको छैन । त्यो कुरा पार्टी सदस्यहरु सबैलाई लागु हुन्छ । त्यसकारण प्रधानमन्त्रीले कसरी सहमति गराउने भन्ने कुरा उहाँ स्वयमं अध्यक्ष भएको हुँदा उहाँको कुरा हो । पार्टीका सबै नेताहरुलाई जिम्मेवारीको भूमिकामा ल्याउने, पार्टीका भावना, एकताको चाहनालाई पुरा गर्ने काम उहाँकै हो ।
चिनियाँ राजदूतले प्रचण्डलाई भेटेर सरकारलाई सहयोग गर्नुहोस् भन्नुभयो नि ?
यो चाँडी ठ्याक्कै कुटनीतिक वृत्तबाट भएका यसप्रकारका गतिविधिहरु लाइभमा हामीले देख्न पाएका छैनौं । त्यो भेटघाटमा हामी थिएनौं पनि । कतिपय विदेशी शक्ति केन्द्रहरुले भेटघाट गर्दा नेपालको सार्वभौमिकता, नेपालको अखण्डता, नेपालको आन्तरिक मामिलामा सिधै प्रभाव पार्ने गरी चलखेल नगरिदिए हुन्थ्यो भन्ने मेरो मान्यता हो ।
तर पनि चीनले त प्रभावमा पारिसक्यो नि ?
एउटा छिमेकी मित्रराष्ट्रको कुनै न कुनै रुपमा हामीले सहकार्य गरेको पार्टीको हैसियतले नेपालको अहिलेको अवस्थामा स्थायित्वको निम्ति तपार्इंंहरु एक ठाउँमा हुँदा राम्रै हुन्छ भनेर संकेत आएको हुन सक्छ । त्यसलाई एउटा शुभेक्क्षाको रुपमा लिनुपर्छ तर डिसिजन गर्ने कुरा हामीले गर्ने हो ।
चीनले जे भन्यो नेपाल कम्युनिस्ट पार्टी त त्यही गर्नुपर्छ नि ?
त्यस्तो चीनले भनेको जस्तो गरेको छैन । उसले एक दलीय प्रणालीको संविधान लागु गरेको छ । त्यसोभए तपाईंहरुले पनि यही गर्नुहोस् भन्थ्यो होला । हामी भारत र बेलायतको जस्तो प्रणालीमा अगाडि बढिराखेका छौं । त्यसैले चीनले जे भन्यो त्यही गरेको भए त त्यही प्रणालीमा जानेथियो होला नि त्यो होइन ।-File Photo



प्रतिक्रिया दिनुहोस्