Logo

प्रधानमन्त्री ओलीलाई राजीनामा गराएरै छाड्ने दाहाल–नेपालको अडान, अब के हुन्छ ?



काठमाडौं, २७ असार । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको पाँचौ बैठकमा नेताहरुले केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको राजीनामा माग गरेका छन् । स्थायी कमिटीका बहुमत सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि ओलीले बैठक नै बहिष्कार गर्दै आएका छन् ।

दुई अध्यक्षबीच सहमति खोजिने उद्देश्यले पटक-पटक एक्ला-एक्लै भेटवार्ताहरु भैरहेका छन् । तर, सहमति भने निस्किएको छैन् । ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान अध्यक्ष दाहालसँग राखिसकेका छन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाउनको लागि दाहाललाई बरिष्ठ नेताद्धय खनाल र नेपाल, र उपाध्यक्ष वामदेव गौतमले साथ दिँदै आएका छन् । उनीहरु अब पनि बैठक स्थगित् गर्न नहुने र बैठक सुचारु गरेर निर्णय गर्नुपर्ने निश्कर्षमा पुगेका छन् । दाहालसँगको पछिल्लो भेटमा खनाल र नेपालले बैठक स्थगित् गर्न नहुने दबाब दिएका छन् ।

स्थायी कमिटी बैठकबाटै बहुमतको आधारमा निर्णय गरि ओलीलाई राजीनामा गराउन लगाउने उनीहरुको निश्कर्ष छ । तर, दाहालले सहमतिको लागि अझै एक/दुई दिन समय माग्दै आएका थिए । तर, हिजोबाट एक साताका लागि बैठक स्थगित् गरिएको छ । देशमा बाढि, पहिरो, डुबानका समस्या आएकोले यस्तो विपद्को बेलामा उद्धार, राहत कार्यमा जुट्ने भन्दै एक साता बैठक स्थगित् गरिएको छ ।

दाहाल-नेपाल समूह भने अब बस्ने बैठकबाट ओलीको राजीनामाको एजेण्डालाई वारपार बनाउने तयारीमा छन् । बरिष्ठ नेता खनालले आफुहरुले उठाएको एजेण्डा यथावत रहेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका छन्,’प्रधानमन्त्रीको राजीनामा माग गरिएको एजेण्डा यथावत । आउने बैठकले छिनोफानो गर्छ । आउने स्थायी कमिटी बैठकबाट वारपारको लडाई हुन्छ ।’

दाहाल-नेपाल समूह यसअघि ओलीलाई दुवै पदबाट राजीनामा गराउनुपर्ने अडानमा थियो । तर, अहिले प्रधानमन्त्रीबाट मात्रै राजीनामा गराउने अडानमा छ । तर, ओलीले भने दुवै पदबाट राजीनामा नदिने भन्दै सकेको गर्न खुल्ला चूनौति दिएका छन् ।

दुई अध्यक्ष मिलेर जानुको विकल्प नभएको बताउँदै पार्टी एकताको पक्षमा नेतृत्वलाई दबाब दिन लागिपरेका दोस्रो तहका नेताहरुपनि ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्ने बताउन थालेका छन् । दाहालनिकट स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अहिले पार्टी फुट्दा तीनै तहसम्म असर पर्ने बताउँछन् । उनले प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने धारणा राखेका छन् ।

तर, ओली पक्षधर नेताहरुले ओलीले अहिले दुवै पद नछोड्ने बताएका छन् । उनीहरुले अहिले विपद्को मिलेर सामना गर्ने बेलामा पार्टीभित्रको आन्तरिक विवाद चर्काएर लैजान नहुने मत राखेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्