Logo

बुद्ध शान्त पार्क अनलाईन प्रतिभाको खोजी–२०७७ मा भाग लिएकामध्ये १०० जना दोस्रो चरणमा प्रवेश (भिडिओसहित)



बुद्ध शान्त पार्क निर्माण गर्ने कुरा सरकारको नजरमा छ : मन्त्री मानन्धर

काठमाडौं, २७ असार । बुद्ध शान्त पार्क अनलाईन प्रतिभाको खोजी २०७७ मा भाग लिएका २४० जनामध्ये १०० जना दोस्रो चरणमा प्रवेश गरेका छन् । आयोजक संस्था बुद्ध शान्त पार्क निर्माण समितिले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । दोस्रो चरणमा प्रवेश गरेकाहरुमा नेवारी भजनतर्फ ६० र नेपाली भजनतर्फ ४० जना रहेका छन् । उक्त कार्यक्रमको छनौट अनलाईनमार्फत भएको हो ।

शहरी विकास राज्यमन्त्री रामविर मानन्धरको प्रमुख अतिथिमा आजको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले विश्व आज एउटा भिलेज भएको बताउँदै आयोजक संस्थाले गरेको कामको मुक्तकण्ठले प्रशंसा गरे । उनले भने,“तपाईहरुले गीत, संगित, संस्कृति र धर्मको नामबाट विश्वमा शान्ति छर्ने काम गर्नुभएको छ। तपाईहरुलाई धेरै धेरै धन्यवाद । नेपालजस्तो सांस्कृतिक रुपमा धनी देश विश्वमै अरु छैन् ।”

उनले पछिल्लो समय भारत र चीनबीच सिमा विवाद भैरहेको उल्लेख गर्दै उनीहरुबीच लडाई भयो भने के होला ? भन्ने आशंका सबैमा भैरहेको सुनाउ । उनले भने,“धेरै मानवीय क्षति हुन्छ । मान्छेले दुःख पाउँछन् । लडाई भएका देश कंगो, ईथोपियाजस्ता देशमा अझैपनि भोकमरी छ । नेपाल शान्तिको देश हो । नेपाललाई चिनाउने र बुद्धको सन्देशलाई विश्वभरि पुर्याउन यो कार्यक्रमले मद्दत पुगेको छ । नेपाल शान्ति चाहन्छ ।”

उनले बुद्ध शान्त पार्क निर्माण गर्नु खुशीको कुरा हो भन्दै पार्क बनाउने कुरा सरकारको नजरमा पर्ने पनि बताए । उनले भने,“तपाईहरु राज्यको निवेदनमा आउनुहोस् । ३० रोपनी जग्गामा यो पार्क बन्दैछ भन्नुभएको छ, यसमा राज्यको नजर पुग्छ । पार्कको निर्माण हुन्छ । संघीय, प्रदेश र स्थानीय सरकारसँग जोडिनुहोस् । यो पार्क बन्न धेरै समय लाग्दैन् ।” बुद्धले एकाग्रताले नै बुद्धत्व प्राप्त गरेको मन्त्री मानन्धरले सुनाउँदै राम्रो काम सम्पन्न हुनको सबैको साथ र सहयोग आवश्यक हुने बताए ।

उनले चुच्चे नक्साले नेपाल र भारतबीच सम्बन्धमा अलिकति चिसोपना आएको सुनाए । भारत र चीनबीच सिमा विवाद भैरहेको सुनाउँदै उनले नेपाल सधैं शान्तिको पक्षधर भएको स्पष्ट पारे । मानन्धरले भने,“संसारका मानव सबै एक हुन् । कोही पनि पराया छैनन् । गाली गर्नेलाई फूलले जवाफ दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । बुद्धको अनुयायीको रुपबाट शान्ति चाहिन्छ । सबलाई मिलाउनुपर्छ ।”

त्यस्तै, आयोजनाका सल्लाहकार एवम् बौद्ध विद्धान प्राध्यापक सुवर्ण शाक्यले उक्त कार्यक्रमले बुद्ध सन्देशको प्रचारप्रसार भैरहेको स्पष्ट पारे । उनले भने,“यो बुद्धको सन्देश प्रचार गर्ने नयाँ विद्या हो ।”

कार्यक्रममा संगीतकार डबल बहादुर शाक्यलगायत बरिष्ठ कलाकार र समाजसेवीहरुको उपस्थ्तिि थियो । कार्यक्रमको उद्घोषण भने सुमन शाक्यले गरेकी हुन् । अनिल तुलाधारले स्वागत मन्तव्य राखेका थिए । बुद्ध शान्त पार्क निर्माण समितिको अध्यक्ष शान्तबहादुर शाक्यले आजको पत्रकार सम्मेलनको सभापतित्व गरेका थिए ।

कार्यक्रममा मन्त्री मानन्धरको हातबाट सुशिला बैद्य, प्रकाशदिप श्रेष्ठ, मणिकसिद्धि तुलाधर, डबलबहादुर शाक्य, शन्तबहादुर शाक्य, अञ्जना शाक्य, देवकुमारी खड्की, उत्तम शाक्य र भुपेन शाक्य सम्मानित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्