Logo

सिंगापुरका प्रधानमन्त्री लुङ्गलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई



२७ असार :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिङ्गापुरका प्रधानमन्त्रीलाई निर्वाचनमा विजयी भएकोमा बधाई ज्ञापन गरेका छन् । शुक्रबार भएको आमनिर्वाचनबाट सिंगापुरका प्रधानमन्त्री लि हसिन लुङ्गको सत्तारुढ दल नै विजयी भएको बताइएको छ । प्रधानमन्त्री लिलाई भारतीय प्रधानमन्त्री मोदीले शनिबार ट्वीट गरेर बधाई दिनुभएको समाचारमा बताइएको छ ।

सिंगापुरमा शुक्रबार सम्पन्न भएको आमनिर्वाचनमा प्रधानमन्त्री लुङ्गको दल विजयी भएको हो । आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि यसलाई सकारात्मक र सन्तोषजनक रुपमा लिएको प्रधानमन्त्री लिले बताएका छन् ।

सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले यहाँ दुई तिहाइ बहुमतभन्दा बढी मत प्राप्त गरेको छ । यहाँको विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले निकै थोरै मात्रै सिटमा जित्न सफल भएको छ ।

यहाँको सत्तारुढ दल सिंगापुरमा सन् १९५९ देखि नै सत्तामा रहँदै आएको छ । शनिबारको आम निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशत मात्रै मतदाता सहभागी भएका थिए ।

प्रधानमन्त्री मोदीले सिंगापुरमा लिको आगामी कार्यकाल सफल बन्न सकोस् र उनको कार्यकालमा सिंगापुरका नागरिकले सम्पन्नता हासिल गर्न सकुन् भन्ने कामना पनि गरेका छन् ।

कोभिड १९ को महामारी विश्वमा नै कायम रहेका बेला सिंगापुरमा भने आम निर्वाचन सम्पन्न भएको छ ।

प्रधानमन्त्री लि सिंगापरमा चौथो कार्यकाल प्रधानमन्त्री बन्ने तेस्रो व्यक्ति भएका पनि समाचारमा उल्लेख गरिएको छ ।एएनआई



प्रतिक्रिया दिनुहोस्