Logo

महिलाका लागि रोजगारमूलक कार्यक्रम ल्याइनेछ : मन्त्री गुरुङ



काठमाडौँ, २७ असार : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोभिड–१९ का कारण रोजगारी गुमाएर स्वदेश फर्किएका महिलाहरुलाई लक्षित गरी सरकारले रोजगारीमूलक कार्यक्रम ल्याउने तयारी गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ, युकेद्वारा यहाँ आज आयोजित ‘कोभिड–१९ ले नेपाली महिलामा पारेको प्रभाव’ विषयक ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै कोरोना भाइरसका कारण स्वदेश फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका कार्यक्रम ल्याउने तयारी भइरहेको बताएका हुन् ।

उनले भने, “नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलालाई ‘उद्यमशीलता र उत्पादन’मा जोड्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको छ, त्यसको प्रभावकारी कार्यान्वयन हुन्छ ।” मन्त्री गुरुङले कोरोना भाइरसको महामारीबाट पीडित महिलाहरुलाई सहयोग गर्ने सङ्घसंस्थालाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने घोषणासमेत गरेका छन् । उनले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सहयोग गर्न पनि प्रवासमा रहेका महिला नेत्रीहरुलाई आग्रह पनि गरे ।

बैठकमा नेपाली काँग्रेसकी नेत्री डा डिला सङ्ग्रौलाले कोरोना भाइरसबाट प्रभावित महिलाहरुका लागि आत्मनिर्भर हुने गरी आयआर्जनको कार्यक्रम तत्काल ल्याउन सरकारसँग आग्रह गरे । गैरआवासीय नेपाली सङ्घ, युकेकी अध्यक्ष पुनम गुरुङलगायत सहित गैरआवासीय नेपाली सङ्घमा आबद्ध महिला नेत्रीहरुले कोरोना भाइरसका कारण रोजगारीको अवसर गुमाएर स्वदेश फर्किएका नेपालीहरुलाई सम्मानपूर्वक जिउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।-रासस



प्रतिक्रिया दिनुहोस्