Logo

तस्करी गर्न नपाएपछि प्रहरीलाई धम्की



मोरङ, असार २८ । तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन्। विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर–१५ का ३९ वर्षीय रामजी मण्डललाई शुक्रबार साँझ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। ड्युटीमा खटिएकी महिला प्रहरीलाई गालीगलौज गरी, धम्की दिएको आरोपमा विराटनगर–१५ बाटैमण्डललाई पक्राउ गरेको हो। मण्डलले लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रमा रहेर मरिच, केराउ, रजनिगन्धालगायतका वस्तुहरूको तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मरिच,केराउ भारततर्फ र रजनिगन्धाको नेपालतर्फ तस्करी हुने गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का मोरङ सरुवा भएर आएसँगै तस्करी नियन्त्रण सुरु गरेकाछन्। सीमामा हुने चोरी तस्करीमा कडाइ गर्न थालेपछि तस्करी धन्दा चलाउन नपाएका उनले ड्युटीमा रहेका प्रहरीलाई तस्करीको लाइन खुलाउनु पर्ने भन्दै अनेक धम्की र दबाब दिने गरेको सुरक्षा स्रोतको भनाइ छ।

मण्डलविरुद्ध प्रहरीले केही दिनअघि अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो। फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले शक्रबारराति पक्राउ गरेर कारबाही अघि बढाउन हिरासतमा लिएको हो। मण्डलले तस्करी नियन्त्रणमा सक्रिय रहेर अवैध सामान वारपार गर्न नदिने प्रहरीलाई अन्यत्र सरुवा गरिदिने धम्की दिएको एसपी खड्काको भनाइ छ। खड्काले भने, ‘मण्डलले ड्युटीमा रहेका प्रहरीलाई अन्यत्र सरुवा गरिदिने, जागिरै खोसिदिनेसम्मको धम्की दिने गरेको पाइएको छ।’

तस्करी धन्दामा लामै समयदेखि मण्डल सक्रिय रहेको प्रहरीको दाबी रहेको आजको नागरिक दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्