Logo

जाजरकोटमा गएको पहिरोमा ९ जनाको शव भेटियो, ६ जना अझै बेपत्ता



जाजरकोट, २८ असार । जिल्लामा गएको पहिरोमा परी बेपत्ता भएका मध्ये कुल ९ जनाको शव फेला परेको छ । शनिबार थप दुईजनाको शव फेला परेपछि मृतक संख्या ९ पुगेको हो । बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ का ६ जना अझै वेपत्ता छन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये ७ जनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो ।
शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार नै भेटिएको थियो ।

बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।
शुक्रबार नै स्थानीय खोलामा बगेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि भेटिएका छैनन् ।

सोही दिन खहरे खोलामा बगेका जुनिचाँदे गाउँपालिका–१ का डिल्ली चुनारा पनि बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्