नयाँगाउँमा पहिराले बगायो घर


दमौली, २८ असार : तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा शनिबार राति पहिराले एक घर बगाएको छ । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराले स्थानीयवासी मुरली ढकालको घर बगाएको हो ।

ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएपछि उनीसहित पाँच जना सामान्य घाइते भएको स्थानीयवासी विशाल ढकालले जानकारी दिए । पहिराले घर बगाएपछि स्थानीयवासीले उनीहरुको उद्धार गरेका थिए । पहिराले घर बगाएपछि मुरलीसहित उनका श्रीमती, दुई छोरा र एक छोरीले सोही ठाउँभन्दा अलि माथि रहेको छविराज ढकालको घरमा आश्रय लिएका छन् । “अकस्मात् पहिरो आएर घर बगाएपछि स्थानीयवासीले तत्कालै उनी हरुको उद्धार गरेका कारण थप क्षति हुन पाएन”, विशालले भने, “उनीहरु अहिले छिमेकीका घरमा छन् ।”

सोही घरमा शनिबार साँझ एक वृद्धको कालगतिका कारण मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले पहिराका कारण घर बस्न नमिल्ने गरी क्षति भएको जानकारी दिए ।रासस