Logo

मिर्गौला तस्करीमा डाक्टर, प्रहरी र कानुन व्यवसायी नै संलग्न



असार २८, काठमाण्डौ । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले आइतवार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सहित १२ जना पक्राउ गरेको जनाएको हो । यद्यपी पक्राउ परेको सम्बन्धमा शनिवार नै समाचार बाहिरिसकेको थियो ।

व्युरोको टोलीले नौ जना ललितपुरबाट र चितवनबाट तीन जनालाई पक्राउ गरेको थियो । १२ जनामध्ये चितवनको भरतपुर मेडिकल कलेजका तीन जना चिकित्सक पनि रहेका छन् । उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली माानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मृगौला प्रत्यारोपण गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा ललितपुर वडा नम्बर ३ का श्रीगोपाल महर्जनसहित ३ जना डाक्टर, २ जना महिला, १ जना कानून व्यवसायी र अन्य ५ जना रहेको व्युरो प्रमुख एसएसपी देव बहादुर बोहराले जानकारी दिए । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा उनीहरुलाई शनिवार राति नियन्त्रणमा लिइएको थियो ।

नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोका प्रमुख देव बहादुर बोहरा

यस्तो छ साँठगाँठ :

मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलासा भएको छ । जसमा नेपाल प्रहरीका दुई जना अधिकारीले समेत बर्मालाई सघाएको पाइएको छ । पक्राउ परेका १२ जनामध्ये प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया पनि हुन् ।

खनालले नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने परिवारकी जमुनाराज भण्डारीलाई डा. बर्मासँग भेटाइदिएका थिए । भण्डारीले भक्तपुरकी रेश्मा राईमार्फत खनाललाई भेटेको र उनले १० लाख रुपैयाँ लिएर विचौलियाका रुपमा काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

प्रहरीमा परेको एउटा बेनामी उजुरीको मद्दतले गैरकानुनीरुपमा गरिने मिर्गौला प्रत्यारोपण गर्ने र्‍याकेटको पोल खुलेको हो । गत कार्तिक ३ गते परेको सो उजुरीकै आधारमा चितवनस्थित कलेज अफ मेडिकल साइन्स (सीएमएस) मा नक्कली कागजात खडा गरी विदेशमा रहेको व्यक्तिको विवरण प्रयोग गरेर तेस्रो मानिसको मिर्गौला झिकी प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्